काठमाडौं, चैत ४ :

गत बिहीबार (फागुन २९ गते) देखि प्रदर्शन भएको ‘अञ्जिला’ हेर्न स्कुलका विद्यार्थी हल पुगेका छन् ।

नेपालको राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ मार्फत प्रेरणात्मक सन्देश प्रवाह हुने भएकाले स्कुलले आफ्ना विद्यार्थीलाई फिल्म हेराएको जनाएका छन् । दरबारमार्गस्थित राइजिङ मलमा रहेको क्यूएफएक्समा सोमबार डाफोडिल बोर्डिङ स्कुल र डाफोडिल पब्लिक स्कुलका ३६० विद्यार्थीले फिल्म हेरेका थिए । यस्तै, रिलिजको दोस्रो दिनदेखि देशभरमा सहरहरूमा पनि विभिन्न विद्यालयहरूले आफ्ना विद्यार्थीहरूलाई यो चलचित्र देखाइरहेको निर्देशक मिलन चाम्सले बताए ।

‘अञ्जिला’ हेर्न  कक्षा ३ देखि १२ सम्मका विद्यार्थीहरूलाई विभिन्न विद्यालयहरूले पठाइरहेका छन् । डाफोडिल स्कुलका अरविन्दकुमार मण्डलले विद्यार्थीहरूलाई प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले चलचित्र देखाएको बताए । ‘यो चलचित्र हेरेर हाम्रो विद्यार्थीहरूले नेभर गिभ अप भन्ने सिकेका छन् । मैले आफैँले हेर्दा पनि मनोरञ्जनसँगै कप्तान सुब्बाको जीवनलाई बुझ्न पाएँ,’ उनले बताए ।