काठमाडौं, चैत ५ :

काठमाडौं उपत्यकाका आठ आंगीक क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएका छन् ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत उपत्यकाभित्रका २२ आंगीक क्याम्पसमध्ये ८ वटामा स्ववियु निर्वाचन रोकिएको हो । त्रिविले ६२ आंगीक र अन्य सम्बन्धनप्राप्त कलेजमा आजका लागि स्ववियु निर्वाचनको मिति तय गरेको थियो ।

तालाबन्दीका कारण रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) र अमृत साइन्स क्याम्पस (अस्कल) मा अन्तिम समयमा स्ववियु निर्वाचन स्थगित भएको हो ।

त्यस्तै सरस्वती क्याम्पस, विश्वभाषा क्याम्पस, नेपाल ल क्याम्पस, शंकरदेव क्याम्पस, त्रिचन्द्र क्याम्पस र पब्लिक युथ क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया यसअघि नै रोकिएको थियो । आरआर र अमृत साइन्समा भने हिजो मध्यरातदेखि तालाबन्दी भएपछि स्थगित भएको हो ।

निर्वाचन भएका क्याम्पसमा आजै साँझदेखि मतगणना हुने, उपत्यकाका यी क्याम्पसमा हुन सकेन निर्वाचन

त्यस्तै त्रिवि केन्द्रीय क्याम्पसमा ८ गतेका लागि निर्वाचन सरेको छ । पद्मकन्या क्याम्पस बागबजारमा ७ गते निर्वाचन हुनेछ ।

यता थापाथली इन्जिनियरिङ कलेज, सानोठिमी बहुमुखी क्याम्पस, आयुर्वेद क्याम्पस, जनप्रशासन क्याम्पस, महाराजगन्ज चिकित्सा क्याम्पस, महाराजगन्ज नर्सिङ क्याम्पस, नेपाल कर्मस क्याम्पस, पाटन बहुमुखी क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, ललितकला क्याम्पस र महेन्द्ररत्न क्याम्पसमा निर्वाचन भइरहेको छ ।

निर्वाचन भएका क्याम्पसहरूमा मतदानलगत्तै आजै साँझदेखि मतगणना सुरु गर्ने स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए ।