धनुषा, भदौ ८ :

गृहमन्त्री रमेश लेखकले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्न वर्तमान सत्ता गठबन्धन बनेको बताउनुभएको छ । 

जिल्ला प्रशासन कार्यालय धनुषाको नयाँ भवनको आज शिलान्यास गर्दै गृहमन्त्री लेखकले नेपाली काँग्रेस र नेकपा (एमाले) एकठाउँमा आएर सरकार निर्माण गर्दा मुलुकमा भएका समस्या समाधान गर्न सहज भएको बताउनुभयो ।

गृहमन्त्री लेखकले दुई ठूला दलको समिकरणबाट निर्माण भएको अहिलेको सरकारले देशलाई नयाँ आयामतर्फ लैजाने विश्वास दिलाउनुभयो

१८ वर्षदेखि निष्कर्षविहीन रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विषय दुई ठूला दल नेपाली काँग्रेस र नेकपा (एमाले) एक ठाउँमा उभिँदा निष्कर्षमा पुग्न सफल भएको गृहमन्त्री लेखकले स्पष्ट पार्नुभयो । 

अहिले निर्माण गरिएको सत्ता समीकरण मुलुकका लागि निर्विकल्प रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले तत्कालै यसको विकल्प खोज्नु उचित नहुने बताउनुभयो । 

गृहमन्त्री लेखकले सत्तापक्ष र प्रतिपक्ष दुवै लोकतन्त्रका अपरिहार्य आधार भएकाले विकास, आर्थिक समृद्धि, कानुनको शासन सुनिश्चित गर्नेलगायतका कुरामा सबै सँगै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले राजनीतिक अस्थिरताको प्रभावले विगतमा केन्द्र र प्रदेशमा असर परेकाले बाँकी रहेका विकास निर्माणका काम अब दुई ठूला पार्टी मिलेर बनेको वर्तमान सरकारले पूरा गर्ने बताउनुभयो ।