काठमाडौं, चैत ५ :

फागु पूर्णिमाको अवसर पारेर गत बिहीबार प्रदर्शनमा आएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र ‘अञ्जिला’ ले दर्शकको उत्साहजनक साथ पाएको छ ।

प्रदर्शनको सुरुवाती दिनदेखि नै दर्शकको उल्लेख्य उपस्थिति रहेको चलचित्रले हलहरूमा दैनिक शो संख्या पनि बढाउँदै लगेको छ । वितरक करण श्रेष्ठका अनुसार चलचित्रले प्रदर्शनको पहिलो दिन १०५ शोबाट यात्रा सुरु गरेको थियो । दर्शकको बढ्दो मागसँगै शुक्रबार ११४, शनिबार १३४ र मंगलबारसम्म आइपुग्दा १७० भन्दा बढी शो पाएको छ ।

यो तथ्याङ्कले चलचित्रप्रति दर्शकको सकारात्मक प्रतिक्रिया र उच्च मागलाई स्पष्ट पारेको छ । प्रारम्भिक दिनदेखि नै सकारात्मक प्रतिक्रियाका कारण, चलचित्रले थप शोहरू प्राप्त गरेको निर्देशक मिलन चाम्सले बताए ।

चलचित्र ‘अञ्जिला’ले कठिन पारिवारिक परिवेशबाट व्यावसायिक फुटबल खेलाडी बन्ने सपना बोकेर राजधानी छिरेकी एन्जिला तुम्बापो सुब्बाको प्रेरणादायी जीवनयात्रालाई जीवन्त रूपमा प्रस्तुत गरेको छ ।

यसमा एन्जिलाले राजधानी आउनुअघि र आएपछिको संघर्षलाई मार्मिक ढंगले चित्रण गरिएको छ । एन्जिलाको कथाले दर्शकको मनमा गहिरो प्रभाव छोडेको छ । राष्ट्रिय महिला फुटबल टोलीको कप्तानीसम्मको उनको यात्रालाई पर्दामा देख्दा दर्शक भावुक बनेका छन् । चलचित्रको अन्त्यतिर हलमा अधिकांश दर्शकका आँखा रसाएको देखिन्छ ।

यो चलचित्र निर्देशक मिलन चाम्सको ११औं निर्देशकिय चलचित्र हो । अञ्जिलालाई प्रेमकुमार श्रेष्ठले निर्माण गरेका हुन् । चलचित्रमा कलाकारसमेत रहेका श्रेष्ठ एन्जिलाका ‘गड फादर’ हुन् । शीर्ष भूमिकामा एन्जिला आफैंले अभिनय गरेकी छिन् । चलचित्रमा माओत्से गुरुङ र दयाहाङ राईले एञ्जिलाका बुबाको भूमिका निर्वाह गरेका छन् भने सिर्जना सुब्बाले आमाको भूमिका निभाएकी छन् ।

सुमिन गुरुङले दाजुको भूमिका, सुनील थापाले कोचको भूमिका निभाएका छन् । साथै, यसमा बुद्धि तामाङ, विजय बराल, मञ्जु श्रेष्ठलगायत कलाकारको पनि अभिनय छ ।

चलचित्रले पहिलो तीन दिनमा दुई करोड सात लाख रुपैयाँको व्यापार गरेको रिपोर्ट निर्माताले सार्वजनिक गरिसकेका छन् ।

यति बेला यो चलचित्रको गीत ‘रात किन हुन्छ हजुर...’ चर्चित छ । जसमा थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर छ । प्रभा बर्तौलाको शब्द तथा थानेश्वरको सङ्गीत रहेको छ ।