काठमाडौं, चैत ६ :

नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले राजतन्त्र फर्किने कल्पना नगर्न आग्रह गरेका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै शर्माले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएको कारण राजतन्त्र नफर्किने बताए ।

राजनीतिक दलहरू गणतन्त्र र जनताको जनजीविकामा सुधार गर्नुभन्दा सत्तामोह र अवसर पाउँदा असैद्धान्तिक गठबन्धन गर्ने प्रवृत्तिका कारण लोकतान्त्रिक अभ्यासमा समस्या आएको उनको भनाइ थियो ।

उनले आफूलाई राजतन्त्र फर्किने डर नभई आफ्ना कमिकमजोरी सच्याउनसक्छौँ कि सक्दैनौँ भन्ने डर रहेको बताए।  

गणतन्त्र र जनताको जनजिविकामा सुधार गर्नुभन्दा पनि पार्टी र नेताहरू कुर्सीको छिनाझप्टि, सत्तामोह र एकअर्काप्रतिका गालीगलौचमा उत्रिएका कारण लोकतान्त्रिक अभ्यासमा केही समस्या र अविश्वास पैदा भएको उनले बताए ।

संविधान कार्यान्वयनको दोस्रो कार्यकालसम्म आइपुग्दा संविधान कार्यान्वयनमार्फत अधिकार प्रयोगमा चुकेको विषयमा समीक्षा गर्न शर्माको जोड थियो ।

उनले प्रदेशलाई प्रभावकारी र स्थानीय तहलाई बलियो नबनाउने समस्याको पछाडि केन्द्रिकृत मानसिकता हावी भएको बताए।