कैलाली, चैत ८ :

वर्षायाममा कान्द्रा नदीले बर्सेनि सयौँ हेक्टर जमिन कटान गरेपछि पाँच करोडको लागतमा प्रारम्भ भएको तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको छ । 

जिल्ला जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका अनुसार नदी किनारका विभिन्न खण्डमा ८३० मिटर तटबन्ध र पाँच वटा स्पर निर्माण अन्तिम चरणमा पुगेको हो । 

भजनी नगरपालिका- ९ काँडामा २१६, वडा नं ४ धनौरामा २१६ र वडा नं ४ धनौरामा २१६ मिटर तटबन्धको काम अन्तिम चरणमा पुगेको उक्त कार्यालयका सूचना अधिकारी टेकराज विनाडीले बताए ।  

यसैगरी, गौरीगङ्गा नगरपालिका- ९ मा १२२ मिटर, घोडाघोडी नगरपालिका- ११ को सिसैयामा ६० मिटर तटबन्धको काम सम्पन्न भएको छ । सो वडाको वडा नं ११ मा तीन र १२ मा दुई गरी पाँच वटा स्पर निर्माण सम्पन्न भएको छ । तटबन्धनपछि उर्बर भूमि संरक्षण हुनका साथै नदी किनाराका बस्ती जोखिमयुक्त हुने जनाइएको छ ।