काठमाडौं, चैत ८ :

गत साता रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ले नेपालमा सफलताको यात्रा तय गरिरहेको छ ।

पहिलो सातामै उच्च दर्शक आकर्षित गर्न सफल यो चलचित्र दोस्रो साता अझ व्यापक रूपमा प्रदर्शन भइरहेको छ । प्रारम्भमा १०५ शोबाट सुरु भएको प्रदर्शन हाल १७० भन्दा बढी शोमा विस्तार भइसकेको छ । दर्शकको अत्यधिक रुचि र सकारात्मक प्रतिक्रियाले गर्दा नेपालभर शो सङ्ख्या निरन्तर बढिरहेको हो ।

चलचित्रको सफलतासँगै विदेशबाट पनि यसको प्रदर्शनका लागि ठुलो माग आएको छ । यसैबीच, ‘अञ्जिला’को अन्तर्राष्ट्रिय प्रदर्शनबारे सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाइरहेको भन्दै निर्माताहरूले आधिकारिक स्पष्टीकरण जारी गरेका छन् ।

चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ र निर्देशक मिलन चाम्स द्वारा जारी गरिएको प्रेस विज्ञप्तिअनुसार, हालसम्म जापान, कोरिया, क्यानडा र हङकङबाहेक अन्य कुनै पनि देशको वितरण तथा प्रदर्शन अधिकार बिक्री गरिएको छैन । सामाजिक सञ्जालमा विश्वव्यापी रूपमा चलचित्र रिलिज गर्न लागेको दाबी गरिरहेको पाइएको, जुन पूर्ण रूपमा भ्रामक र आधारहीन रहेको विज्ञप्तिमा उल्लेख छ ।

निर्माताहरूका अनुसार, अन्य देशहरूका लागि अब आधिकारिक रूपमा वितरण अधिकार दिन सुरु गरिएको छ । इच्छुक वितरक तथा प्रदर्शकहरूलाई आधिकारिक माध्यमबाट मात्र सम्पर्क गर्न अनुरोध गरिएको छ ।