
नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा उत्तरपश्चिम पृतना सुर्खेतमा आज आयोजित दोस्रो चरणको ‘भूतपूर्व सैनिक सम्मेलन- २०८१’ सम्पन्न भएको छ ।
सुर्खेतसँगै नेपालगन्ज, दैलेख, कालीकोट, जुम्ला, मुगु, डोल्पा र हुम्ला उपकेन्द्रमा एकैसाथ सुरु भएको सम्मेलन ती जिल्लामा बसोबास गर्ने भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाको सहभागितामा सम्पन्न भएको हो ।
सम्मेलनलाई सम्बोधन गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले भूपू सैनिक सम्मेलन नेपाली सेनाबाट अवकाशप्राप्त सैनिकको विशेष पुनर्मिलन कार्यक्रमका रूपमा रहँदै आएको बताए । उनले सम्मेलनमा अवकाशप्राप्त सकल दर्जा तथा परिवारजनसँग प्रत्यक्ष भेटघाट र अन्तरक्रियाले हामीबीचमा रहेको भावनात्मक सम्बन्धलाई थप मजबुत बनाउनाका साथै संस्थागत प्रयासमा समेत योगादन पुग्ने विश्वास व्यक्त गरे ।
प्रधानसेनापतिले कल्याणकारी कोषको मितव्ययी र पारदर्शी प्रयोगबाट कोषको दिगोपन तथा सेवा सुविधालाई निरन्तरता दिई थप व्यवस्थित गर्ने योजना भइरहेको बताउँदै स्रोतको सीमितताका बाबजुद हिताधिकारीबाट प्राप्त राय सुझावलाई चरणबद्ध रूपमा सम्बोधन गर्दै लैजाने जानकारी गराए ।
सम्मेलनमा बाँके निवासी ८७ वर्षीय हुद्धा भक्तबहादुर गुरूङ र सुर्खेत निवासी ९६ वर्षीय एकल महिला अमृता सलामी मगरलाई ज्येष्ठ भूतपूर्व सैनिक सम्मान गरिएको थियो । सर्वोत्कृष्ट र उत्कृष्ट उद्यमीरव्यवसायी सुर्खेत निवासी हुद्धा कृष्णबहादुर रमौली र दिवङ्गत सिपाही कुलबहादुर घर्तीकी श्रीमती शोभा बिसीलाई प्रशंसापत्र एवं पुरस्कार वितरण गरिएको थियो ।
सोही क्रममा चार वा सोभन्दा बढी सन्तति नेपाली सेनामा रहेका तीन जना अभिभावकलाई सम्मान, फरक क्षमता भएका तथा अशक्त १० जनालाई ह्वीलचेयर, बैसाखी तथा आर्थिक सहयोग वितरण गरिएको थियो । सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत पाँच जना व्यवसायीलाई उद्यमशील कर्जाको चेक हस्तान्तरण गरिएको छ ।
यसअघि बिहीबार सुदूरपश्चिम पृतनाअन्तर्गत पहिलो चरणको भूपू सैनिक सम्मेलन धनगढीमा सम्पन्न भएको थियो ।