सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार प्रदेश कोसी प्रदेश

१५ दिनभित्र पाथीभरा मुख्य प्रवेशद्वारभित्रका मानव निर्मित संरचना हटाउन आग्रह

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ९ चैत, २०८१ मा प्रकाशित
१५ दिनभित्र पाथीभरा मुख्य प्रवेशद्वारभित्रका मानव निर्मित संरचना हटाउन आग्रह
ताप्लेजुङ, चैत ९ :

प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पाथीभरा मन्दिरको प्रवेशद्वारभित्र रहेका पाटी, पौवा, टहरालगायत मानव निर्मित संरचना हटाइने भएको छ । 

पाथीभरा क्षेत्र विकास समितिले संरचना हटाउन वा वैकल्पिक व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई १५ दिनको समयसीमा दिएको हो ।

नेपाल सरकारद्वारा जारी विकास समिति ऐन, २०१३ बमोजिम विसं २०५३ मा गठन भएको पाथीभरा क्षेत्र विकास समितिले सो क्षेत्रको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्दै आएको जनाएको छ । 

समितिका अनुसार पाथीभरा मन्दिर क्षेत्रको प्राकृतिक सुन्दरता कायम राख्न मुख्य प्रवेशद्वारभित्र कुनै नयाँ संरचना निर्माण नगर्ने निर्णय अनुरूप वृक्षारोपण, धामक्षेत्र व्यवस्थापनलगायत कार्य अघि बढाइएको छ ।

यसैबीच चैत ६ गते राति पाथीभराको डाँडामा गाडिएको मुकुम्लुङ (ढुङ्गा) र यग्राङसिं (फलामको नौतले भर्याङ) हटाउन सम्बन्धित पक्षलाई तीन दिनभित्र सम्पर्क गर्न एक सूचनामार्फत आग्रह गरिएको छ । 

तोकिएको समयसीमाभित्र सम्पर्क नगरिएमा संरचना हटाउने कार्य समितिका तर्फबाट अघि बढाइने समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए ।
पाथीभरा क्षेत्रमा कुनै किसिमका निर्माण वा गतिविधि गर्दा समितिको स्वीकृतिबिना गर्दा अवैध हुने भएकाले समन्वयका लागि सम्बन्धित पक्षलाई समितिको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको पनि उनले जनाए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार