काठमाडाैं, चैत ९ :

रक्षामन्त्री मानवीर राईले गोकर्ण वन क्षेत्रभित्र रहेको दक्षिणढोका-मूलपानी सडक खोल्न प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।

गोकर्णेश्वर नगरपालिका ४ अन्तर्गत नेपाल ट्रस्टको स्वामित्वमा रहेको वन क्षेत्रमा निरीक्षण गरेपछि उनले स्थानीय बासिन्दाको माग सम्बोधन गर्न सक्दो सहयोग गर्ने बताएका हुन् । नगरपालिकाले लामो समयदेखि पर्खालभित्रको यो सडक खोल्न आग्रह गर्दै आएको छ ।

स्थानीय बासिन्दाका अनुसार सडक अवरुद्ध हुँदा गोकर्णेश्वर मन्दिर क्षेत्रबाट दक्षिणढोका र मूलपानी आवतजावत गर्न कठिनाइ हुँदै आएको छ । पर्खाल भत्किएको केही स्थानमा काँडेतार लगाएर बाटो बन्द गरिएको छ । यसै कारण वाग्मती करिडोर पनि सञ्चालनमा आउन सकेको छैन । सडक खुलेमा गोकर्ण क्षेत्रमा हुने ट्राफिक जाम कम हुने वडा नम्बर ४ का अध्यक्ष जयराम महतले बताए ।

प्रतिनिधिसभा सदस्य शान्ति श्रेष्ठका अनुसार एक महिनाअघि प्रधानमन्त्री केपी ओलीलाई भेटी यो विषयमा छलफल गरिएको थियो । प्रधानमन्त्रीले पनि सडक खोल्न पहल गर्ने आश्वासन दिएका थिए ।

गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामा, पूर्व संविधानसभा सदस्य रामेश्वर फुयाँल, विभिन्न वडाध्यक्ष तथा स्थानीय प्रतिनिधिहरूले प्रधानमन्त्रीलाई भेटेर सडक खुलाउन जोड दिएका थिए ।

केही दिन अघि काठमाडौं क्षेत्र नम्बर ३ का सांसद सन्तोष चालिसेले पनि उक्त सडक खोल्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए । नेपाल ट्रस्टको स्वामित्वमा रहेको वन क्षेत्रको सय मिटर पर्खाल भत्काएर बाटो छिचोल्न नसक्दा बागमती करिडोरमा यातायात असहज भएको बताएका थिए ।