
दाङको घोराही ९ खैरामा रहेको साङ्ग्रिला प्लाई उद्योगमा लागेको आगो अझै पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन ।
आइतबार रातिदेखि लागेको आगलागीबाट करोडौँ रुपैयाँको क्षति भएको छ । सोमबार बिहानैदेखि दमकल र ठुलो संख्यामा प्रहरी, सेना तथा स्थानीयको सहयोगमा आगो निभाइएको भएपनि अझै १० प्रतिशत नियन्त्रणमा आउन बाँकी रहेको दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिए ।
आगो निभाइएको केही ठाउँबाट अझै धूवाँ निस्करहेको तर अन्य ठाउँमा फैलने जोखिम भने नरहेको प्रजिअ लम्सालले बताए ।
आठ बिघा क्षेत्रफलमा रहेको उद्योगमा आगलागी भएपछि नजिकका ३० भन्दा बढी घर जोखिममा परेका थिए । ती घरका सामान बाहिर निकालेर नागरिकलाई सुरक्षित स्थानमा सारिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बाँकी रहेको आगो निभाउने काम अझै जारी रहेको र क्षतिको विवरण सङ्कलन गर्ने कार्य थालिएको बताए ।