
इटहरीको सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ । आज बिहान ९ः३० बजे सुरु भएको आगो करिब ६ घण्टापछि नियन्त्रणमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक योगराज खतिवडाका अनुसार आगो निभाउन विभिन्न स्थानीय तहका १२ दमकल तथा झण्डै तीन सयको सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको थियो । भवन ठुलो भएकाले आगो निभाउन बढी समय लागेको उनले बताए।
प्लाजाको सातौं तलामा फसेका ३ जना महिला र ८ जना पुरुष गरी ११ जनाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । प्रहरी नायव उपरीक्षक खतिवडाका अनुसार उद्धार गरिएकामा बङ्गलादेशका एमडी जय, लक्ष्मी श्रेष्ठ, विजय धामी, विष्णु तामाङ, सञ्जय जैसवाल, दिया राय, विशाल सिंह, आशिष चौधरी र अन्य तीन जना रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
आगलागीमा फसेकाको उद्धारका लागि गृह मन्त्रालयले काठमाडौँबाट नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । उद्धारका क्रममा ७ जना सुरक्षाकर्मी र एकजना सामान्य घाइते भएका छन्। के कारण आगलागी भएको भन्ने बारेमा अनुसन्धान भइरहेको र क्षतिको विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ ।