
चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको पाँचौं सातामा प्रवेश गरेको छ । शिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट रिलिज आएको चलचित्र पाँचौं सातामा प्रवेश गरेको हो ।
उच्च शोसहित प्रदर्शन सुरु गरेको चलचित्रमा अहिले पनि दर्शक छन् । दर्शकबाट राम्रो प्रतिक्रिया आइरहेको निर्माणपक्षले जनाएको छ । ‘चलचित्र लाज शरणम् सफलतासहित पाँचौं सातामा प्रवेश गरेको छ,’ निर्माता नवीन श्रेष्ठले भने, ‘अहिले पनि चलचित्रलाई उपलब्ध शोमा दर्शकको संख्या उच्च छ ।’
‘लाज शरणम्’ले पहिलो दिन एक करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो ।
चलचित्रमा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामा, रेणुनाथ योगी, सागर लम्साल, हरि निरौला, अर्जुन घिमिरे, कमलमणि नेपाल, प्रियाना आचार्य, दयाहाङ राई र बुद्धि तामाङलगायतको अभिनय छ ।
‘लाज शरणम्’लाई कुमार कट्टेल (जिग्री) ले निर्देशन गरेका हुन् । जेपीटी क्रियसनको ब्यानरमा बनेको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने रामनरेश शाह र सिर्जना खड्का सह-निर्माताका रूपमा छन् ।