शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
मनाेरञ्जन कला

‘बिगुल’मा नरेन खड्का

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १३ चैत, २०८१ मा प्रकाशित
‘बिगुल’मा नरेन खड्का
काठमाडौं, चैत १३ :

सामाजिक कथावस्तुमा आधारित नयाँ नेपाली चलचित्र ‘बिगुल’को निर्माण घोषणा गरिएको छ । यस चलचित्रमा अभिनेता नरेन खड्का मुख्य भूमिकामा अनुबन्ध भएका छन् ।

निर्माण टिमले हालै उनीसँग लिखित सम्झौता गर्दै मुख्य भूमिकामा अनुबन्ध गराएको हो । बिगुलको सांकेतिक अर्थ अन्यायविरुद्धको आवाज उठाउने बाजासँग जोडिन्छ । जसले चलचित्रको कथावस्तु झल्काउने संकेत गर्छ ।

अहिलेसम्म एक दर्जनभन्दा बढी चलचित्रमा काम गरिसकेका खड्का पछिल्लो ‘बाह्र गाउँ’मा देखिएका थिए ।

चलचित्र ‘हमेशा’ बाट मुख्य अभिनेताका रूपमा डेब्यु गरेका नरेनले ‘बुलाकी’ बाट सर्वाधिक चर्चामा आएका हुन् । ‘बुलाकी’ बाट उनले विभिन्न फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेताको अवार्डसमेत जितिसकेका छन् ।

अन्यायविरुद्धको आवाज उठाउने कथावस्तु बोकेको ‘बिगुल’ मा नरेनबाहेक अन्य कलाकारहरूको छनोट टुंगो लाग्न बाँकी छ । निर्माण टिमले उनको अपोजिटमा अभिनेत्रीको खोजी गरिरहेको छ ।

यो चलचित्रलाई निर्देशन रमेश कोइरालाले गर्नेछन् । उनले यसअघि ‘लीला’ र ‘नीरमाया’ निर्देशन गरिसकेका छन् । मौनता श्रेष्ठको लेखन रहेको सिनेमामा कल्पना पौडेल प्रस्तुतकर्ताका रूपमा छिन् ।

एमजीपी ब्यानरमा निर्माण हुने चलचित्रको छायांकनको जिम्मेवारी शिव ढकालले लिएका छन् । चलचित्रको छायांकन नयाँ वर्ष २०८२ को वैशाख १ गते विशेष मुहूर्त गरी सुरु गरिने निर्माणपक्षले बताएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार