
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानसभाबाट बनेको अहिलेको संविधानको विकल्प नभएको बताएका छन् ।
बनेपा नगरपालिकाको ४४औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधानको अहिले विकल्प नभएको दाबी गरे । ‘संविधान जारी भएपछि अभ्यासका क्रममा केही कमी-कमजोरी छन् भने विधि र प्रक्रियाबाट संशोधन गर्नेबाहेक अरू विकल्प छैन,’ उनले भने ।
उपप्रधानमन्त्री सिंहले जस्तो चुनौती आए पनि संविधानको बाटोबाट समाधान खोज्नुपर्नेमा जोड दिए । उनले कसैले केही भन्दैमा डगमाउने कुरा नभएको धारणा राखे । अहिलेको परिवर्तन उसै प्राप्त नभएको भन्दै उनले जनताको संघर्षबाट प्राप्त उपलब्धि सुरक्षित गर्न संवेदनशील हुनु नै सबैको हितमा हुने बताए ।
उपप्रधानमन्त्री सिंहले नागरिकको जीवन र जीविकोपार्जन सहज होस् भन्ने जनचाहना पूरा गर्नेतर्फ सरकार लागेको पनि दाबी गरे । उनले अहिले केही पनि भएन भन्ने गलत भाष्य बनाइएको भन्दै यथार्थ त्यस्तो नभएको बताए ।
‘भएको कुरालाई भएको भन्ने बानी गरौं । नभएको, गर्न बाँकी काम पूरा गर्नतिर लागौं,’ सिंहले भने, ‘विकास निर्माणको काम राम्रो भएर मात्र हुँदैन । जनप्रतिनिधिले बुझ्ने तर जनताले नबुझ्दा पनि समस्या देखिएको छ । विकास निर्माणको काममा सुरुदेखि नै जनतालाई सहभागिता गराउनुपर्छ । जनता र जनप्रतिनिधिसँगै मिलेर काम गर्दा असम्भव ठानिएको कुरा पनि सम्भव छ ।’
कार्यक्रममा बाग्मती प्रदेशका सांसद कञ्चनचन्द्र बादे, तीर्थ लामा, काठमाडौं विश्वविद्यालयका उपकुलपति अच्युत वाग्लेलगायतले नगरपालिकालाई स्थापना दिवसको शुभकामना दिँदै बनेपाको विकासमा आफूहरूले सकेको काम गर्ने प्रतिबद्धता जनाए ।