काठमाडाैं, चैत १६ :

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनकुने क्षेत्रमा भएको आक्रमणबारे गम्भीर छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।

नेकपा (एकीकृत समाजवादी केन्द्र)को कार्यालयमा आक्रमणपछिको क्षति निरीक्षण गर्दै ‘समाजवादी मोर्चा नेपाल’को बैठकमा उनले असामाजिक गतिविधि गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउनु पर्ने बताए। साथै, उनले सुरक्षा व्यवस्थामा भएका कमीकमजोरीको गम्भीर समीक्षा गर्न सरकारलाई आग्रह गरे।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सुरक्षा व्यवस्था सुदृढ गर्न सरकारलाई कडा कदम चाल्न सुझाव दिए। उनले घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहको संलग्नता रहेको दाबी गर्दै उनको मानसिकता आपराधिक रहेको टिप्पणी गरे।

‘यस घटनाको पछाडि ज्ञानेन्द्र शाह नै छन् भन्ने स्पष्ट देखिन्छ। इतिहासले पनि देखाएको छ कि उनको मानसिकता आपराधिक छ, अहिले पनि देखिएको छ,’ उनले भने, ‘सरकारले अब कडा कदम चाल्नुपर्छ।’

उनले राजधानीको केन्द्रमा यस्तो आपराधिक घटना हुँदा पनि सुरक्षाकर्मी समयमै नपुग्नु दुःखद भएको बताए। ‘आक्रमणबारे जानकारी गराएपछि पनि करिब ४०-४५ मिनेटसम्म सुरक्षाकर्मी नदेखिनु गम्भीर कमजोरी हो,’ उनले भने।

सरकारले सुरक्षा प्रणालीको पुनरवलोकन गरी आगामी दिनमा यस्ता घटनाबाट जोगिन उचित तयारी गर्नुपर्नेमा उनले जोड दिए। साथै, उनले अपराधीहरूलाई कानुनी दायरामा ल्याउन सरकार गम्भीर बन्नुपर्ने चेतावनी दिए।