काठमाडाैं, चैत १६ :

नेपाली कांग्रेसको १५ औं महाधिवेशन हुने नहुने अन्यौलकाबीच नेताहरुले भने गुटगत भेटघाट र छलफललाई तीव्र बनाएका छन् । ६ जना शीर्ष नेताबीच शनिबार पूर्व उपसभापति विमलेन्द्र निधिको निवास नयाँ बानेश्वरमा छलफल भएको हो ।

१५ औं महाधिवेशनमा केन्द्रित रहँदै पछिल्लो राजनीतिक घटनाक्रम, समसामयिक राजनीति विषयमा छलफल भएका भएको जनाइएको छ। छलफलमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको पक्षमा जनमतलाई सुदृढ पार्ने र नेपाली कांग्रेसको सङ्गठनात्मक सुदृढीकरणका लागि पार्टीलाई एकताबद्ध गराएर सङ्गठन परिचालन गर्नु आजको प्रमुख आवश्यकता भएकोबारे छलफल भएको थियो । यस्तो किसिमको भेटघाट आगामी दिनमा जारी राख्ने समझदारी भएको छ ।

दुई घण्टा लामो बैठकमा गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय गच्छदार, कृष्णप्रसाद सिटौला र डा. शशांक कोइराला सहभागी थिए । हिजो राजधानीमा भएको प्रतिगमनकारी एवम् आपराधिक घटनाको भत्र्सना गर्दै जनताको जीउधनको सुरक्षामा कडाई गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

हिजोको घटनामा समाचार सङ्कलनका क्रममा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुरका सबिन महर्जनको निधनप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीध्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

यसैगरी, हिजो तीनकुनेमा भएको प्रदर्शनको घटनाको छानवीन गरी घटनामा संलग्न दोषीमाथि तत्काल कारबाहीको मागसमेत गरिएको छ । एकीकृत समाजवादीको पार्टी कार्यालयमा भएको तोडफोडको भर्सना गरिएको छ । साथै, कान्तिपुर टेलिभिजन, अन्नपूर्ण पोष्ट दैनिक, अनलाइनखबरमा भएको आक्रमण, जडिबुटी प्रशोधन तथा भाटभटेनी लगायतका व्यापारिक गृहमा भएको तोडफोड र लुटपाटको घटनाको भर्सना गरिएको छ ।

अन्यौलकाबीच पनि नेताहरुले पार्टीको १५ औं महाधिवेशन २०८२ सालको मंसिरभित्रै हुने बताएका छन्।  विधानअनुसार ४ वर्षमा पार्टीको महाधिवेशन गर्नुपर्ने हुन्छ। तर त्यसका लागि तयारी अगाडि बढेको देखिदैन । कांग्रेसले १४ औं महाधिवेशन २०७८ मंसिरमा गरेको थियो।