काठमाडौं, चैत १८ :

प्रधानमन्त्री केपी ओलीले कूटनीतिज्ञ, पूर्वराजदूत, लेखक तथा पत्रकार कमल कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गरेर संसद् भवनबाट ओली सिधै आालोकनगर पुगेका हुन् । २०७८ सालमा नेकपा एमालेबाट विभाजन भई नेकपा (एकीकृत समाजवादी) बनेपछि ओली रुष्ट थिए । माधव नेपाल, झलनाथ खनाललगायत नेताले एमालेबाट विभाजन भई गठन गरेको एकीकृतको समाजवादीको कार्यालयमा ओली तीन वर्षपछि पहिलोपटक पुगेक हुन् ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर पुगेर प्रधानमन्त्री ओलीले श्रद्धाञ्जली अर्पण गरे । यस्तै, चैत १५ गते राजावादीले जलाएको एकीकृत समाजवादीको पार्टी कार्यालयको पनि निरीक्षण गरेका छन् । गत चैत १५ गते भएको प्रदर्शनका कारण एकीकृत समाजवादीको कार्यालयमा क्षति पुगेको थियो । समाजवादीको कार्यालयमा भएको आगजनी र तोडफोडको क्षतिको विवरण बुझेपछि ओलीले यस्ता गतिविधिमा संलग्न कसैलाई पनि नछोडिने आश्वासन दिएका थिए ।

यस्तै वरिष्ठ पत्रकार कमल कोइरालालाई श्रद्धाञ्जली दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि आलोकनगर पुगेका छन् । त्यहाँ पुगेर दाहालले  शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

दिवंगत कमल कोइरालाप्रति प्रधानमन्त्रीसहित नेताहरुद्वारा श्रद्धाञ्जली अर्पण

अर्को रोचक के छ भने कमल कोइरालालाई श्रद्धाञ्जली दिन माधव नेपालको पार्टी कार्यालय पुगेका ओलीसँगसँगै भीम रावलको पनि जम्काभेट भएको छ । ओली, नेपाल र मातृभूमि राष्ट्रिय अभियान चलाइरहेका रावल एकठाउँ देखिन असम्भवजस्तै मानिए पनि कोइरालाप्रति श्रद्धाञ्जली दिनका लागि एकै ठाउँमा देखिए ।

८७ वर्षीय कोइराला केही दिनअघि पक्षघातका कारण अस्पताल भर्ना भएका थिए । उनको उपचारकै क्रममा  हिजो (आइतबार) साँझ निधन भएको हो । पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालापुत्र कमल किशोरावस्थादेखि नै वामपन्थी राजनीतिमा सक्रिय थिए । उनी दक्षिण कोरियाका लागि राजदूत पनि बनेका थिए ।

दिवंगत लेखक एवं पत्रकार कमल कोइरालालाई श्रद्धाञ्जलीका लागि पुगेका ओली, दाहाल, रावललगायत नेताका थप तस्बिर :