रसुवा, चैत १८ :

रसुवामा निर्माणाधीन २१६ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाले आयोजना प्रभावित आमाछोदिङमो गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको छ ।

विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित घाइते,सुत्केरीलगायत आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मानवीय सेवा पुर्याउने उद्देश्यले गाउँपालिकालाई आधुनिक सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरिएको छ । आयोजनाको सामुदायिक सहयोग कार्यक्रमअन्तर्गत प्रदान गरिएको एम्बुलेन्स आयोजना प्रभावित आमाछोदिङमो गाउँपालिका १, हाकुस्थित हाकु हेल्थ पोस्टले सञ्चालन गर्नेछ । आयोजना प्रभावित अर्को उत्तरगया गाउँपालिकालाई पनि छिट्टै एम्बुलेन्स प्रदान गरिने आयोजनाले जनाएको छ ।

आयोजनाको प्रवर्धक नेपाल वाटर एन्ड इनर्जी डेभलप्पमेन्ट कम्पनी प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बायोङ सु मिनले आज (सोमबार) हाकुमा आयोजित कार्यक्रमकाबीच एम्बुलेक्सको चाबी गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङलाई हस्तान्तरण गरे ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रमका आमाछोदिङमो गाउँपालिका १ र २ का वडाध्यक्षहरु, स्वास्थ्य केन्द्र प्रमुख, आदिवासी जनजाति परिषद्का पदाधिकारीहरु, स्थानीय बासिन्दालगायतको उपस्थिति थियो ।

कार्यक्रममा सीईओ बायोङ सु मिनले आयोजना प्रभावित क्षेत्रका बिरामी र दुर्घटनाका घाइतेहरुलाई अस्पताल पुर्याउनुभन्दा अगावै आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन स्रोतसाधन सम्पन्न एम्बुलेन्स गाउँपालिकालाई प्रदान गरिएको बताए । उनले भने, ‘आयोजना प्रभावित क्षेत्रका बासिन्दाको आधारभूत स्वास्थ्य सेवा पहुँच विस्तारलाई ध्यान दिई उपलब्ध गराइएको एम्बुलेन्सबाट बिरामीहरुलाई समयमा स्वास्थ्य सेवासम्म पुर्याउन एउटा कोसेढुंगा हुने विश्वास लिएका छौं ।’

गाउँपालिकाका अध्यक्ष तामाङले विकास आयोजनाहरु स्थानीयसँगको सहकार्य र समन्वयमा सञ्चालन गरिएमा मात्र सफल हुने बताउँदै आयोजनाबाट प्राप्त हुने लाभको पहिलो हकदार प्रभावितहरु हुने भएकाले सोहीबमोजिम कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गरे । सरकारले राष्ट्रिय एम्बुलेन्स निर्देशिकामा तोकिएका मापदण्डबमोजिम एम्बुलेन्स खरिद गरिएको हो । एम्बुलेन्स आयातमा लाग्ने राजस्व सरकारबाट छुट प्राप्त भएको छ । राजस्व छुटमा खरिद गरिएको एम्बुलेन्सको मूल्य २५ लाख रुपैयाँ छ ।