काठमाडौँ, भदौ ११ :

नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष तथा नेपाली नारी आन्दोलनकी पहिलो महिला नेतृ मङ्गलादेवी सिंहको २८ औँ  स्मृति दिवस मनाइएको छ । 

स्मृति दिवसको सन्दर्भमा आज बिहान शोभा भगवती डल्लुमा रहेको सिंहको सालिकमा पुत्रसमेत रहनुभएका उपप्रधान तथा सहरी विकास मन्त्री  प्रकाशमान सिंहले सालिकमा माल्यार्पण गर्नुभयो ।

माल्यार्पण पछि उपप्रधानमन्त्री सिंहले नेपाली महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला मङ्गलादेवी सिंह भएको बताउँदै अहिले संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मङ्गलादेवीकै आन्दोलनको उपलब्धि भएको बताउनुभयो । 

महिलाको हक, अधिकारलाई सुरक्षित बनाउनका लागि विसं २००४ साउन २४ गते मङ्गलादेवी सिंहको अध्यक्षतामा महिला भेला भई महिला सङ्घको स्थापना भएको थियो  । 

उहाँले महिलाले पढ्न पाउनुपर्छ भन्दै दिएको दबाबका कारण पद्म शमशेर राणाले पद्म कन्या क्याम्पस खोल्न अनुमति दिएको बताइन्छ ।