मुस्ताङ, चैत १९ :

घरपझोङ गाउँपालिका- २ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रले १६ जिल्लाका कृषि प्राविधिकलाई फलफूल तथा सागसब्जी खेतीसम्बन्धी तालिम दिइरहेको छ ।

सङ्घ, प्रदेश र स्थानीय तहका नायब प्राविधिक सहायक र प्राविधिक सहायकलाई लक्षित गरी केन्द्रले आइतबारदेखि तीनदिने ‘गुणस्तरीय बिरुवा उत्पादन तथा नर्सरी व्यवस्थापन’ विषयक सैद्धान्तिक तथा व्यावहारिक अभ्यास तालिम आयोजना गरिएको हो ।

शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले मुस्ताङमा विभिन्न जिल्लाका कृषि प्राविधिक तथा किसानलाई यसप्रकारको तालिम अभ्यास बर्सेनि सञ्चालन गर्दै आएको छ । 

फलफूल तथा तरकारीका गुणस्तरीय बिरुवा तथा बीउ उत्पादन गर्न कृषि प्राविधिकलाई यसप्रकारको तालिम अभ्यास सञ्चालन हुने गरेको केन्द्रका कार्यालय प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए ।  

केन्द्रले शीतोष्ण फलफूल तथा तरकारीमा गरिने प्रसारणका विविध विधि तथा प्रविधि अवलोकन गराउनेलगायत तालिम प्रशिक्षण गराउने गरेको छ । 

गुणस्तरीय बिरुवा उत्पादनका लागि माउबोट तथा रुटस्टक बिरुवाको व्यवस्थापन तथा नर्सरी स्थापना र व्यवस्थापनलगातयत विषयमा कृषि प्राविधिकलाई व्यावहारिक रूपमा सिकाइने गरिएको प्रमुख आत्रेयले बताए ।

तालिममा १६ जिल्लाका १८ कृषि प्राविधिकले सहभागिता जनाएका छन् । तालिममा पाल्पा र गुल्मीबाट दुई-दुई जनाको कृषि प्राविधिकको प्रतिनिधित्व छ । 

यसैगरी बाँके, काभ्रे, धनकुटा, मोरङ, झापा, पर्वत, मनाङ, ललितपुर, मुगु, पश्चिमनवलपरासी, चितवन, धादिङ, स्याङ्जा, सुनसरी र जाजरकोटबाट समान एक- एक कृषि प्राविधिकको सहभागिता रहेको प्रमुख आत्रेयले जानकारी दिए । तालिम केन्द्रका प्राविधिक सहायक लक्ष्मण बुढाले संयोजन गरिरहेका छन् ।