काठमाडौं, चैत १९ :

आगामी जेठ १५ गते रिलिज हुने चलचित्र ‘महाभोज’ को पहिलो गीत ‘मख्खै परेँ...’ सार्वजनिक भएको छ ।

कौडा भाकाको यस गीतमा सुरेन्द्र दियालीको शब्द रचना, प्रशान्त शिवाकोटीको स्वर तथा सङ्गीत छ । शशिका राईले स्वरमा साथ दिएकी छन् ।

भिडियोमा चलचित्रका प्रमुख कलाकारहरू दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महतले कौडा नृत्य गरिरहेका छन् । साथै अभिनेता आर्यन सिग्देल र अभिनेत्री सुरक्षा पन्तको आकर्षक उपस्थिति छ ।

आर्यनलाई गाउँको सभ्रान्त व्यक्तिका रूपमा प्रस्तुत गरिएको छ । सुरक्षा उनकी पत्नीको भूमिकामा देखिएकी छन् । भिडियोको अन्त्यमा मलिका र खगेन्द्र छापामारको पोसाकमा देखिन्छन् । जसले चलचित्रको विषय र कथालाई रहस्यमय बनाएको छ । गीतका कोरियोग्राफर मौसम हिमाली हुन् ।

दिनेश राउतको निर्देशनमा बनेको ‘महाभोज’ लाई दर्शकले उच्च अपेक्षाका साथ पर्खिरहेका छन् । विकास सुवेदीको स्क्रिप्ट लेखन रहेको यस चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्रसिंह कुशवाहलगायत कलाकारको अभिनय छ ।

क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भएको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् ।