
रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका वडा नं ३ लेखर्कमा आइतबार बिहान गएको पहिरोमा परि बेपत्ता भएका ४ जनाको अवस्था अझै अज्ञात रहेको छ।
पहिरोमा परेर एकै परिवारका ४ जना सहित ६ जनाको मृत्यु भएको थियो ।
आइतबार दिनभर प्रमुख जिल्ला अधिकारी अनिता निरौला सहितको टोलीले खोजी कार्य जारी राखेपनि ४ जनालाई फेला पार्न नसकिएपछि सोमबार पनि खोजी कार्यलाई निरन्तरता दिइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रदीप कुमार सिंहले जानकारी दिनुभयो ।
सङ्घीय सरकारका ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्य मन्त्री पूर्णबहादुर तामाङले पहिरोमा परि मृत्यु भएका परिवारलाई आफ्नो तर्फबाट व्यक्तिगत रूपमा प्रति परिवार १० हजारका दरले आर्थिक सहयोग समेत गर्नु भयो ।
उहाँले घाइतेको उपचार गर्न पनि आफूले सहयोग गर्ने बताउँदै बिस्तापितहरुलाई सुरक्षित स्थानमा स्थायी बसोबासका लागि आफूले प्रयास गर्ने बताउनुभयो ।
पहिरोका कारण लेखर्कका ५९ परिवार विस्थापित भएका छन्। विस्थापित परिवारलाई गाउँ नजिकैको कण्ठेश्वर माविको भवन र गाउँ पालिकाको खाली कोठाहरूमा राखिएको गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले जानकारी दिनुभयो ।
भीषण वर्षा पछि आएको बाढीका कारण लेखर्क नजिकैको अँधेरी खोलाको पक्की पुल समेत बगाएको छ । वर्षा र पहिरोले टोकरपुर र आसपासका क्षेत्रमा बाटो बगाउँदा एक गाउँबाट अर्को गाउँ जोड्ने सडकहरू समेत बन्द भएका छन् ।
पहिरोमा पुरिएर १ सय भन्दा बढी पशुहरू मरेको स्थानीयले बताएका छन् ।