बैंकक, चैत २० :

प्रधानमन्त्री केपी ओलीले आफ्नो औपचारिक भ्रमणबाट नेपाल र थाइल्यान्डबीचको आपसी सम्बन्ध नयाँ उचाइमा पुगेको दाबी गरेका छन् ।

थाइल्यान्डको औपचारिक भ्रमणका क्रममा बैंककमा रहेका प्रधानमन्त्री ओलीले थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्‌सँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भ्रमणबाट दुई मुलुकबीच संस्कृति, पर्यटन, शिक्षा, ऊर्जालगायत क्षेत्रमा सहकार्य अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

उनले नेपाल र थाइल्यान्डबीच ६५ वर्षदेखि रहेको कूटनीतिक सम्बन्ध र जनता-जनताबीचको सम्बन्धलाई अझ विस्तार गर्ने विषयमा आफूहरुबीच छलफल भएको बताए ।

प्रधानमन्त्री ओलीले नेपालमा होटेल व्यवसाय तथा हवाई सेवाजस्ता पर्यटन क्षेत्रमा थाइल्यान्डको लगानी र व्यापारका विषयले आगामी दिनमा प्राथमिकता पाउने विश्वास व्यक्त गरे । ‘नेपाल र थाइल्यान्डबीच कृषि, व्यापार, पर्यटन, संस्कृतिको गहिरो सम्बन्ध कायम रहेको छ । थाइल्यान्डका लगानीकर्तालाई नेपालमा लगानीका लागि म आह्वान गर्दछु,’ ओलीले भने, ‘नेपाल र थाइल्यान्डबीचमा व्यापार र पर्यटनको सम्बन्ध राम्रो छ । अब हामी अन्तर्राष्ट्रिय मुद्दाका साथै जलवायु परिवर्तनका बारेमा हातेमालो गरेर काम गर्नेछौँ ।’

प्रधानमन्त्री ओलीले थाइल्यान्डका प्रधानमन्त्री शिनावात्‌लाई नेपाल भ्रमणको निमन्त्रणा दिएको जानकारी दिँदै छिटै नेपालको भ्रमण हुने विश्वास पनि व्यक्त गरे ।

यो पनि…

ओली र सिनावात्राको संयुक्त पत्रकार सम्मेलन

महासंघ र थाइल्यान्डको बोर्ड अफ ट्रेडबीच आर्थिक सहकार्य हुने

नेपाल र थाइल्यान्डका प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न सम्झौता पत्रमा हस्ताक्षर
प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राबीच भेटवार्ता