काठमाडौं, चैत २१ :

काठमाडौं महानगरपालिका भित्रको घर झगडामा राजनीतिक गन्ध आउन थालेको छ । स्वतन्त्रबाट विजयी भएका मेयर बालेन (बालेन्द्र) शाहलाई एक्लो बनाइँदैछ । निकै चर्चा कमाएको महानगर घरभित्रकै झगडाले लथालिङ्ग अवस्थामा पुगेको छ ।

मेयर बालेन्द्र शाहको कामप्रति चुपचाप रहँदै आएकी महानगरकी सहयात्री (उपमेयर) सुनिता डङ्गोल प्रतिवादमा उत्रिएकी छन् ।

प्रमुख प्रशासकीय अधिकृतबाट हटाइएका सरोज गुरागाईं बिहीबार कार्यालयमा प्रवेश गराएर उपमेयर डंगोलले लामो समयदेखिको मौनता तोडेकी छन् ।

बालेनको निषेधकाबीचमा बालेनलाई टक्कर दिँदै सुनीताको बलमा वडाध्यक्ष तथा महानगरका कर्मचारीले गुरागाईंलाई कार्यकक्षमै पुर्‍याएर हाजिर गर्ने वातावरण मिलाए । त्यतिबेला मेयर बालेन कार्यालयमा थिएनन् ।

गुरागाईं ३ महिना १४ दिनपछि ठेलमेठेल गर्दै कार्यालय पुग्दा तलब खान नपाएका कर्मचारीहरू बालेनविरुद्ध नाराबाजी गरेका थिए । डंगोलले मनमुटाव संस्थाभित्र हुन नहुने भन्दै प्रमुख प्रशासकीय अघिकृत दोषी प्रमाणित भएको अवस्थामा कारबाही गर्न तयार रहेको बताएकी छन् । दोषी प्रमाणित नहुँदासम्म काम गर्न दिनुपर्ने उनको धारणा छ ।

बालेनको आदेशको पालना गर्ने उपमेयरलाई खासै नटेर्ने नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले समेत उपमेयरको आज असली रुप देखे ।

एमालेको टिकटमा विजयी भएकी सुनिताले स्वतन्त्रबाट मेयरमा विजयी भएका बालेनमाथि रोष मात्र प्रकट गरेनन् कि कोठाभित्रबाट आदेश नदिन चुनौती दिइन् ।

उपमेयर डङ्गोलको यसअघि बालेनलाई साथ दिँदै आएकी थिइन् । बिहीबार भने उनले बालेनविरुद्ध मुख खोलेकी हुन् । एमालेको निर्देशनमानै उपमेयर अगाडि बढेको भन्नेमा मेयर बालेको सचिवालय सोच्न बाध्य छ । एमालेसँग सधैं रुष्ट हुँदै आएका बालेनसँग बदला लिन एमाले लागि परेको हो कि भन्ने धेरैको अनुमान छ ।

एमाले नेतृत्वको सरकारले बालेनलाई असहयोगसमेत गर्दै आइरहेको कुरा घाम जतिकै छर्लङ्गै छ । सिंहदरबार जलाउनेसम्मको अभिव्यक्ति दिँदा सरकारले बालेनलाई पक्राउ गर्नेसम्मको योजना बनाएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत : काठमाडौं महानगरमा भाँडभैलो, मेयर-उपमेयरबीच समन्वयको संकट

गुरागाईंलाई सहजरुपमा काम गर्ने वातावरण बनाउन दुई कर्मचारी संगठनले आग्रह गरेका छन् ।  बिहीबार एक विज्ञप्ति जारी गर्दै स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष नरबहादुर साउद र स्थानीय तह कर्मचारी संघका महासचिव शम्भु बरालले विज्ञप्ति जारी गर्दै गुरागाईंलाई काम गर्ने वातावरण बनाउन महानगरलाई आग्रह गरेका हुन् । यी दलका संठगन हुन् ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को सचिवालयले आज बिहीबार जबर्जस्ती कार्यालयमा हाजिर गरेर निस्किएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं भ्रष्टाचारी भएको आरोप लगाएको छ ।

बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले भ्रष्टाचारमा संलग्न व्यक्तिलाई उपप्रमुखसहित केही जनप्रतिनिधिहरू र केही कर्मचारी भ्रष्टाचारीलाई जोगाउन संलग्न भएको आरोप लगाए ।

गुरागाईं भ्रष्टाचार मुद्दामा दोषी ठहर भएको खण्डमा विरोधमा उत्रिएका जनप्रतिनिधि र कर्मचारी पनि जेल जान तयार हुनुपर्ने मेयर शाहको सचिवालयले चेतावनी दिएको छ ।

गुरागाईंलाई रोक्ने बालेनको प्रयास असफल, उपमेयरको सहयोगमा हाजिर गर्न पाए

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई काठमाडौं महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइदिन भन्दै एक महिनाअघि पत्र पठाएको थियो । बालेनले लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाएका कारण कर्मचारीहरूको नियमित तलबसमेत रोकिएको थियो ।

काठमाडौं टावर निर्माण अनुमतिलाई लिएर गुरागाईंसँग महानगर प्रमुख बालेनको विवाद चर्किँदै गएपछि अहिलेको अवस्था सिर्जना भएको केहीको आकलन छ ।