
पाल्पामा हरेक वर्ष निकालिने ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा आज हुँदैछ । नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा कृष्ण जन्माष्टमीको भोलीपल्ट उक्त जात्रा निकाल्ने परम्परा रही आएको छ ।
२०५ औँ विजयोत्सव एवं भगवती रथजात्रालाई राष्ट्रपति रामचन्द्र पौडेलले अवलोकन गर्नुहुने कार्यक्रम रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज नै अमन नारायणको रथ निकालिने भएको छ । यसवर्ष भगवती र अमन नारायणको रथ निकाल्न तिथिले एकैदिन परेकाले आजै अमन नारायणको रथ निकालिने भएको हो ।
भगवतीको रथ निकाल्नु अघि तानसेनको नारायणथान मन्दिरबाट अमन नारायणको रथ निकालेर उक्त रथले भगवतीको परिक्रमा पछि मात्र भगवतीको रथ निकालिने परम्परा रहेको जनाइएको छ ।
तानसेन स्थित ऐतिहासिक रणउजीरेश्वरी भगवती मन्दिरमा हरेक वर्ष भगवती रथ यात्रा हुने गरेको छ । लुम्बिनी प्रदेश सरकारले भगवती यात्राको दिन पाल्पा जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
तत्कालीन ब्रिटिश सेनालाई नेपाली फौजले पराजित गरेको सम्झनामा पाल्पामा विजय उत्सव स्वरुप सो जात्रा निकालिदै आएको छ ।
तत्कालीन समयमा नेपाली फौजले चलाएको उक्त विजयी जात्रा हालसम्म आइपुग्दा पाल्पाको सबैभन्दा ठूलो पर्व र जात्राको रुपमा परिचित छ । कर्णेल उजिर सिंह थापाले वि.सं १८७६ मा निर्माण गरेको रथलाई नै हालसम्म विजय जात्राको रुपमा सञ्चालन गरिँदै आएको छ ।