
काभ्रेपलाञ्चोक, चैत २४ :
काभ्रेपलाञ्चोक बास्केटबल सङ्घले यही चैत ३० गतेदेखि दोस्रो संस्करण ‘अल नेपाल काभ्रे ओपन थ्री बास्केटबल प्रतियोगिता’ सञ्चालन गर्ने भएको छ ।
धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको प्राङ्गणमा आयोजना गरिएको प्रतियोगितामा मुलुकभरका उत्कृष्ट खेलाडी एउटै कोर्टमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा ४० पुरुष र १५ महिलाको समूहबीच प्रतिस्पर्धा हुने जनाइएको छ । प्रतियोगिताको आवश्यक तयारी, व्यवस्थापन तथा प्रचारप्रसार र टिम दर्ता भइरहेको सङ्घका अध्यक्ष शिव थापामगरले जानकारी दिए । प्रतियोगितामा विजेता टिमले शिल्ड, प्रमाणपत्रसहित नगद ४० हजार पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेता टिमले २० हजारसहित आकर्षक उपहार भौचर प्राप्त गर्नेछन् ।
यसअघि सङ्घले गत वर्ष बनेपामा पहिलो संस्करणको उक्त प्रतियोगिता सम्पन्न गरेको थियो ।