
चलचित्र ‘जनै हराएको बाहुन’ को शुभमुहूर्त गरिएको छ । काठमाडौंको बूढानीलकण्ठमा आज (आइतबार) बिहान चलचित्रको शुभमुहूर्त गरिएको हो ।
शुभमुहूर्तमा चलचित्रका अधिकांश कलाकारको उपस्थिति थियो । बूढानीलकण्ठ मन्दिर परिसरभित्र भएको शुभमुहूर्तमा अभिनेत्री मिरुना मगर, अभिनेता सुशांक मैनाली, कलाकार गौरव पहाडी र भोलाराज सापकोटाले मुहूर्त सर्ट दिए ।
भोलिबाट चलचित्रको छायांकन सुरु हुने निर्माणपक्षले जनाएको छ । यसअघि यो चलचित्रको स्क्रिप्ट पूजा पनि गरिएको थियो ।
निर्माण टिमका अनुसार ‘जनै हराएको बाहुन’ लाई हिमाल न्यौपानेले निर्देशन गर्दै छन् । ‘जनै हराएको बाहुन’ मा विजय बराल, केकी अधिकारी, रियर राईलगायत कलाकारको पनि अभिनय रहनेछ ।
निर्माण टिमका अनुसार भोलि (आइतबार) काभ्रेको पनौतीबाट चलचित्रको छायांकन सुरु हुनेछ । पाल्पा र काठमाडौंमा पनि छायांकन हुनेछ ।
‘जनै हराएको बाहुन’ ले गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथा भन्नेछ । चलचित्रले आमा र छोराबीचको भावनात्मक कथा भन्नेछ ।
शुभमुहूर्तपछि मिडियासँग संक्षिप्त कुरा गर्दै अभिनेत्री मिरुनाले भनिन्, ‘यो टिममा आबद्ध हुन पाउँदा नै म एकदमै खुसी छु । सम्पूर्ण टिमलाई धन्यवाद भन्न चाहन्छु । यसमा मेरो क्यारेक्टर मेरा लागि विशेष छ ।’
एसोसिएट निर्देशक राउतले ‘जनै हराएको बाहुन’ मा हामी सबै नेपालीको कथा रहेको बताए । ‘यसमा हाम्रो सम्बन्धको कथा छ, दाजुभाइबीचको सम्बन्धका बारेमा छ, आमा छोराका बारेमा छ,’ उनले भने ।
यस्तै, अभिनेता मैनालीले चलचित्र ‘टलकजङ भर्सेज टुल्के’ रिलिज भएको १० वर्षपछि आफू सिनेमामा देखिन लागेको बताउँदै यो टिममा आबद्ध हुन पाउँदा नै म एकदमै खुसी लागेको बताए ।
निर्देशक न्यौपानेको यो डेब्यु निर्देशन हो । यो चलचित्रको एसोसिएट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनीष राउत छन् ।
बलियो लाइनअप रहेको चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । पेपरक्लिप प्रालिको निर्माण रहने चलचित्रका विमल न्यौपाने निर्माता हुन् ।
चलचित्रका कार्यकारी निर्मातामा कमल न्यौपाने, नारायण तिम्सिना, चूडामणि शिवाकोटी, रुपेश लामा र आरके मानन्धर छन् ।
थानेश्वर गौतम र एसडी योगीको संगीत रहने यस सिनेमामा लक्ष्मणराज पौडेल प्रोडक्सन म्यनेजर छन् । चलचित्रको छायांकन सेड्युल ४० दिनको छ । सिनेमाका निर्माता आदित्य फिल्म्स रहेको छ भने नवीन गुरुङले छायांकन गर्नेछन् ।