
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आवश्यकता परेमा संसद्को विशेष अधिवेशन बोलाएर भए पनि विद्यालय शिक्षा विधेयक पारित गर्ने बताएका छन् ।
राजधानीमा आयोजित नेवा: मुक्ति मोर्चाको प्रशिक्षण भेलामा उनले आफ्नो पार्टी शिक्षकहरूको साथमा रहेको बताए । माग पूरा नहुन्जेलसम्म आन्दोलन नछोड्न उनले शिक्षकहरूलाई अपिल पनि गरे ।
‘जबसम्म माग पूरा हुँदैन, तपाईंहरूले नछोड्नुस्,’ आन्दोलनरत शिक्षकहरूलाई लक्षित गर्दै दाहालले काठमाडौंमा आइतबार आयोजित नेवा: मुक्ति मोर्चाको प्रशिक्षण भेलामा भने, ‘कहिले सिट्ठी बजाउनुस् कहिले के गर्नुपर्छ गर्नुस्, हामी तपाईंहरूको साथमा छौं ।’
चैत २० गतेदेखि नेपाल शिक्षक महासंघको आह्वानमा सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलनमा छन् । उनीहरूले विद्यालय शिक्षा ऐन छिटो जारी गर्न माग गरेका छन् ।
अध्यक्ष दाहालले शिक्षकहरूको माग पूरा गर्न संसद्को विशेष अधिवेशनका लागि प्रतिपक्षी दलहरूसँग संवाद थाल्ने बताए । ‘शिक्षकहरूका माग पूरा गर्न जरूरी पर्यो भने विशेष अधिवेशन बोलाएर भए पनि शिक्षकका माग पूरा गर्नेतिर हामी अघि बढ्छौं । म आजैदेखि प्रतिपक्षी दलहरूसँग छलफल गर्छु,’ उनले भने ।
सरकारले हतारिएर संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेको उनको भनाइ छ । अध्यक्ष दाहालले शिक्षकहरूलाई सताउने काम नगर्न सरकारको ध्यानाकर्षण गराए ।