वासिङ्टन डीसी, चैत २७ :

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औषधिमा कर लगाउने बताएका छन् ।

वासिङ्टन डीसीमा भएको एक कार्यक्रममा उनले  अमेरिका सबैभन्दा ठूलो बजार रहेको भन्दै औषधिमा शुल्क लगाउँने र विदेशी कम्पनीहरू अमेरिकामा औषधि उत्पादन गर्न फर्कने दाबी गरेका हुन् ।

ट्रम्पले यसले औषधि कम्पनीहरूमाथि दबाब पर्ने पनि दाबी गरेका छन् । जसका कारण ती कम्पनीहरूले चीन जस्ता देशहरूबाट आफ्नो व्यवसाय सार्नेछन् र अमेरिकामा कारखाना स्थापना गर्नेछन् ताकि उनीहरूले अमेरिकामा औषधि बेच्न सकून्, उनले भनेका छन् ।

पहिले औषधिमा कुनै शुल्क थिएन । ट्रम्पले गत हप्ता कर घोषणा गर्दा औषधिहरूलाई छुट दिएका थिए । तर फेरी ट्रम्पले औषधिमा छुट्टै कर लगाउने बताउँदै आएका छन् ।

विश्वका अधिकांश औषधिहरू चीन, भारत र युरोपमा उत्पादन गरिन्छ । केही विज्ञहरूले औषधिमा प्रयोग हुने सामग्रीहरूमा भन्सार लगाइएमा सर्वसाधारणका लागि औषधिको मूल्य बढ्न सक्ने चेतावनी दिएका छन् ।

यो निर्णयले औषधि उद्योगलाई ठुलो असर गर्न सक्ने विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।