
राष्ट्र राष्ट्रियता धर्म संस्कृति बचाऔं महाअभियानका संयोजक दुर्गा प्रसाईंले भारतीय प्रहरी समक्ष आफ्नो ज्यानको सुरक्षा सहित नेपाल प्रवेश गर्न सहयोग गरिदिन अनुरोध गरेको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त राष्ट्रिय जनआन्दोलन समितिले जनाएको छ ।
समितिका प्रवक्ता स्वागत नेपालले विज्ञप्ति जारी गर्दै संयोजक प्रसाईंले आत्मसमर्पण गरेको नभई आसामको गुवाहाटीबाट नेपालको सीमासम्म ल्याइपुर्याउन भारतीय प्रहरीलाई सहयोग मागेको जनाएका छन् ।
साथै समितिले गुवाहाटीबाट प्रहरीले नेपालको सीमासम्म सुरक्षित ल्याइपुर्याइदिएकोमा धन्यबाद ज्ञापन गरेको छ ।
विज्ञप्ति
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाको लागि आह्वान
चैत्र २८, २०८१
राष्ट्र राष्ट्रियता धर्म संस्कृति बचाऔं महाअभियानका संयोजक दुर्गा प्रसाईंले भारतीय प्रहरी समक्ष आफ्नो ज्यानको सुरक्षा सहित नेपाल प्रवेश गर्न सहयोग गरिदिन अनुरोध गरेपछि इण्डियाको आसामको गुवाहाटीबाट नेपालको सीमासम्म ल्याईपुर्याउने कार्यमा भारतीय प्रहरीले सहयोग गरेकोमा राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त राष्ट्रिय जनआन्दोलन समिति धन्यबाद ज्ञापन गर्दछ।
उहाँले आत्मसमर्पण गर्नु भएको होइन, नेपालसम्म सुरक्षित पुर्याइदिन आफैँ अनुरोध गर्नु भएको हो । सरकारले काठमाडौंको तीनकुनेको शान्तिपूर्ण कार्यक्रमबाट आफै लखेटेर फरार रहेको बताइरहेको अवस्थामा नेपाल फर्कँदै गर्दा नेपाल प्रहरीले उहाँ नेपाल फर्कीरहेको आफूहरुलाई जानकारी नरहेको प्रतिक्रिया दिएको अवस्थामा उहाँको नेपाल प्रवेशसँगै ज्यान खतरामा रहेको र बेपत्ता समेत पारिन सक्ने स्थिति भएको हुँदा राष्ट्रिय अन्तराष्ट्रिय मानव अधिकारवादी संघ संस्था, सञ्चारकर्मी तथा नागरिक समाजका अगुवाहरुलाई उपस्थित भई उहाँको ज्यानको सुरक्षाको प्रत्याभूतिका लागि भूमिका निर्वाह गरिदिनु हुन हामी अपिल गर्दछौं ।
उहाँ क्यान्सरको बिरामी र अदालतको तारिकमा समेत रहेको हुँदा उहाँलाई सुरक्षित रुपमा अस्तालसम्म पुर्याउन र अदालतसम्म हाजिर हुनका लागि समेत सहयोग गर्न हामी राष्ट्रिय मानव अधिकार आयोग र सरकार समक्ष समेत अनुरोध गर्दछौं ।
स्वागत नेपाल
प्रवक्ता,
संयुक्त जनआन्दोलन परिचालन समिति
