काठमाडौं, चैत २९ :

काठमाडौंको तीनकुनेमा चैत १५ गते राजसंस्था पुनःस्थापनाका लागि आयोजित प्रदर्शन हिंसात्मक बनेपछि त्यसको नेतृत्वकर्ता दुर्गा प्रसाईं र उनका अंगरक्षकलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईंसहित उनका अंगरक्षकलाई पनि १२ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रदर्शनका कमान्डर तोकिएका प्रसाईंको नेतृत्वमा भएको आन्दोलन हिंसात्मक बन्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । झडपका क्रममा गोली लागेर दुईजनाको मृत्यु भएको थियो भने केही प्रहरी र सर्वसाधारण घाइते भएका थिए ।

दुर्गा प्रसाईंमाथि ४ कसुरमा अनुसन्धान

प्रदर्शनको क्रममा केही सवारीसाधन, घर, पार्टी कार्यालय तथा सपिङ कम्प्लेक्समा तोडफोड र लुटपाटसमेत भएको थियो ।

घटनापछि फरार भएका प्रसाईं भारतको असम पुगेका थिए । नेपाल प्रहरीको विशेष ब्युरोले असम प्रहरीको सहयोगमा उनलाई नियन्त्रणमा लिई शुक्रबार पूर्वी नाकामार्फत नेपाल ल्याएको हो ।

प्रसाईंविरुद्ध राज्यविरुद्ध संगठित अपराध, ज्यान मार्ने उद्योगलगायतका अभियोगहरूमा अनुसन्धान थालिएको छ । प्रहरीको नियन्त्रणमा रहेका प्रसाईंले भने आफैंले स्वेच्छाले गिरफ्तारी दिएको दाबी गरेका छन् ।