काठमाडौं, चैत २९ :

मेडिकल व्यवसायी तथा राजावादी अन्दोलनका कमान्डर दुर्गा प्रसाईंमाथि प्रहरीले ४ वटा कसुरमा अनुसन्धान अघि बढाइरहेको छ ।

गते चैत ३ गते काठमाडौंको तीनकुनेमा राजसंस्था पुनर्स्थापना भन्दै भएको हिंस्रक प्रदर्शनपछि फरार रहेका प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइरहेको हो ।

तीनकुनेमा भएको प्रदर्शनका क्रममा २ जनाको ज्यान जानुका साथै केही घाइते भएका थिए । अझै केही घाइतेहरु उपचारका लागि अस्पतालमै छन् । प्रसाईंकै निर्देशनमा सरकारी, निजी तथा व्यापारिक संरचनामा आगजनी र तोडफोड गरिएका थिए । प्रदर्शनकारीलाई उचालेर उनी फरार भएका थिए ।

भारतको असमबाट पक्राउ परेका प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको छ । हिजो (बिहीबार) भारतीय प्रहरीको नियन्त्रणमा रहेका प्रसाईंलाई आज (शुक्रबार) बिहान भद्रपुर हुँदै विमानबाट काठमाडौं ल्याइएको हो ।

प्रसाईंलाई ज्यानमार्ने उद्योग, संगठित अपराध, आपराधिक उपद्रव र राज्यविरुद्धको कसुरमा प्रहरीले अनुसन्धान अगाडि बढाइरहेको छ । चैत १५ गते भएको प्रदर्शनमा सहभागी बनेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित कार्यकर्ताहरुलाई पनि प्रहरीले संगठित अपराध, आपराधिक उपद्रव र राज्यविरुद्धको कसुरमा हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।