
काठमाडौँ, साउन १३ : डा मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को महामन्त्री एवं प्रवक्ता र केन्द्रीय सदस्यबाट आफुलाई पदमुक्त गरिनु अवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिनुभएको छ ।
उहाँले आज आयोगमा निवेदन दर्ता गराउनुभएको हो । डा ढकालको निवेदन आयोगमा दर्ता भएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो । डा ढकालले पार्टीले आफूलाई पदमुक्त गर्ने गरेको निर्णय अवैधानिक भएको र रास्वपाका कुनै पनि निर्णय सदर नगर्न आग्रह गर्दै आयोगमा निवेदन दिएको उहाले बताउनुभयो । उहाँले अहिलेसम्म आफू पदमुक्त भएको आधिकारिक पत्र पार्टीबाट प्राप्त नगरेको समेत प्रतिक्रिया दिनुभयो ।
“संविधानको धारा २६९ (४) र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १८(२) अनुसार मलाई पार्टीले गरेको कारबाही अवैधानिक छ । कारबाही अवैधानिक भएकाले मेरो हस्ताक्षर बिना पार्टीको निर्णय अद्यावधिक गर्न आए नगर्नु त्यो अवैधानिक छ भनेर निवेदन दिएको छु”, उहाँले भन्नुभयो ।
रास्वपाको केन्द्रीय समितिको बैठकले गत असार २५ गते डा ढकाललाई पार्टी अनुशासन विपरीत अभद्र र पार्टी हित विपरीत अराजनीतिक व्यवहार प्रदर्शन गरेको भन्दै पदमुक्त गरेको थियो ।