
अमेरिका भरि राष्ट्रपति डोनाल्ड ट्रम्प र उद्यमी इलन मस्कको नीतिविरुद्ध शनिबार हजारौं अमेरिकी नागरिकहरु आन्दोलित भएका छन्। अमेरिकाका सबै ५० राज्यमा एकैसाथ प्रदर्शन गरिएको यो आन्दोलनलाई '५०५०१' नाम दिइएको छ, जसको अर्थ हो– ५० राज्य, ५० विरोध प्रदर्शन, १ साझा आन्दोलन।
प्रदर्शनकारीहरुले राष्ट्रपति निवास व्हाइट हाउस घेराबन्दी गरेसँगै टेस्लाको शोरूममा समेत नाराबाजी गरेका छन्। आन्दोलनकारीले ट्रम्पमाथि नागरिक अधिकार र कानूनी शासनको अवहेलनाको आरोप लगाएका छन्।
यसअघि गत अप्रिल ५ तारिखमा पनि देशव्यापी रुपमा ट्रम्प विरोधी प्रदर्शन भएको थियो। शनिबारको प्रदर्शन त्यसको दोस्रो चरण मानिएको छ।
ट्रम्प र मस्कको नीति विरोध
राजधानी वाशिङ्टन डीसी सहित सबै राज्यहरुमा देखिएको यो व्यापक विरोधको मूल कारण राष्ट्रपति ट्रम्प र टेस्ला प्रमुख इलन मस्कको कठोर नीति मानिएको छ। मस्क नेतृत्वको दक्षता विभागले सरकारी क्षेत्रका हजारौं कर्मचारीलाई निष्कासन गरिसकेको छ।
त्यस्तै, ट्रम्पको कडा आप्रवासी नीति र ट्यारिफ युद्धले पनि जनआक्रोश बढाएको छ। विदेशी वस्तुहरूमाथि कर बढाउँदा देशभित्र ती सामानको मूल्य आकासिएको र त्यसको सीधा असर सर्वसाधारणको जीवनस्तरमा परेको जनाइएको छ।
प्रदर्शनका क्रममा केही पोस्टरहरूमा ट्रम्पलाई अल सल्भाडोरको जेल पठाऊ भन्ने नारासमेत देखिएको थियो।