काठमाडौँ, भदौ १४ :

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स लिग, २०२४’ मा सहभागी राष्ट्रिय महिला भलिबल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कृत गर्नुभएको छ । 

प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री  ओलीले महिला भलिबल टोलीका कप्तान अरुणा शाही सहित १४ खेलाडी, मुख्य प्रशिक्षक जगदीश प्रसाद भट्ट, सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलम सिंह बज्राचार्य र फिजियो लोकेन्द्र कुँवरलाई पुरस्कार वितरण गर्नुभएको हो।

खेलाडीलाई जनही तीन लाख, मुख्य प्रशिक्षक भट्टलाई दुई लाख तथा सहायक प्रशिक्षक यादव, व्यवस्थापक बज्राचार्यलाई र फिजियो कुँवरलाई जनही एक लाख २० हजार राशि सहितको पुरस्कार प्रदान गरिएको हो । 

गत साउन १७ गतेदेखि २३ गतेसम्म काठमाडौँमा भएको उक्त खेलमा नेपालले उत्कृष्ट प्रदर्शन सहित दोस्रो स्थान हासिल गरेको थियो । 

मन्त्रिपरिषद्को गत साउन ३१ गते बसेको बैठकले सहभागी खेलाडी, प्रशिक्षक लगायतलाई कूल ४७ लाख ६० हजार पुरस्कार दिने निर्णय गरेको थियो । 

प्रधानमन्त्री ओलीले महिला भलिबल खेलाडीले हालसम्म पाएको सफलताप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा नयाँ कीर्तिमान कायम गर्ने गरी मेहनत गर्न आग्रह गर्नुभयो । 

पुरस्कारले खेलाडी छोरीहरूलाई थप सफलता र प्रगतिका लागि उत्साह मिल्ने प्रधानमन्त्रीको विश्वास छ । खेलाडीलाई निरन्तर अभ्यास र प्रेरणाको वातावरण तथा पूर्वाधारका लागि सरकारले सक्दो प्रयत्न गर्ने उहाँले बताउनुभयो । जहाँ जाँदा पनि जित्छौँ भन्ने उच्च मनोबलका साथ अन्तिम समयसम्म लाग्न पनि खेलाडीहरूलाई प्रधानमन्त्रीले आग्रह गर्नुभयो ।

आफ्नो पदबहालीका दिन कीर्तिपुर खेल मैदानलाई तीन सय दिनभित्र स्तरोन्नति गर्ने निर्णय गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको राम्रो तयारी गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । 

उहाँले दशरथ रङ्गशालामा खेल हुँदा मैदान हिलाम्मे हुनु दुः खद् भएको र उक्त रङ्गशालालाई स्तरीय बाहेक अन्य खेलमा दुरुपयोग नगराउन सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो ।  

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव सुमनराज अर्याल, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ लगायतको उपस्थीति थियो ।