
फाइल तस्बिर।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजहरूलाई आवासीय चिकित्सकलाई सरकारले तोकेको सेवा सुविधा तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन्। साथै, चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयन नगर्ने मेडिकल कलेजहरूलाई सरकारले दिने सबै सुविधा रोक्ने चेतावनीसमेत दिएका छन् ।
पछिल्ला दुई हप्तादेखि काठमाडौंमा आन्दोलनरत आवासीय चिकित्सकहरूले आज स्वास्थ्य मन्त्रालय पुगेर आफ्ना माग प्रस्तुत गरेका थिए। सोही क्रममा नेपाल चिकित्सक संघ र आवासीय चिकित्सक प्रतिनिधिसँग मन्त्रालयमा वार्ता गर्दै मन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन् ।
गत माघ २५ गते चिकित्सा शिक्षा आयोगको बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी तह (आठौँ तह) अनुसार मासिक ४८ हजार रुपैयाँ निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो। तर, हालसम्म अधिकांश निजी मेडिकल कलेजहरूले उक्त निर्णय कार्यान्वयन गरेका छैनन् ।
मन्त्री पौडेलले आन्दोलन फिर्ता लिएर स्वास्थ्य सेवा प्रणालीलाई सहज बनाउन सहयोग गर्न चिकित्सकहरूलाई आग्रह गरेका छन् ।