
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्यान्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरु अहिले फत्रक्क गलेको टिप्पणी गरेका छन् ।
एमाले संसदीय दलको बैठकमा आज (शनिबार) उनले त्यस्ता भ्रमको पछाडि नलागेर आफ्नो काम र मिसनमा केन्द्रित हुन सांसदलाई आग्रह गरे । ‘सरकार बाङ्गिसक्यो । शेरबहादुरजी थाइल्यान्डबाट नेपाल आइपुग्नेबित्तिकै ढल्छ भनेर भनेका थिए । मैले त भ्रम फिँजाउनेहरुका पछाडि नलाग्नुस् । आफ्नो मिसन र काममा लाग्नुस्, चुनावमा लाग्नुस् भनेकै थिएँ । शेरबहादुरजीले फर्केर आएर सरकार ढल्दैन भनेपछि भ्रम फैल्याउनेहरु फत्र्याक्क गलेका छन् । सरकार ढल्दैन भनेपछि सकियो । त्यसकारण एउटै कुराको जवाफ धेरै पटक खोज्नतिर हामी लाग्नु हुँदैन,’ ओलीले भने, ‘मुलुकमा स्थिरता, स्थायित्व, विकास, सुशासन र समृद्धिका लागि दुई ठुला दलको सहकार्यमा बनेको सरकारले आगामी आर्थिक वर्षका लागि सन्तुलित र सम्भव हुने खालको नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेको छ । हामी सबैको ध्यान त्यसमा केन्द्रित भएको छ । हल्लाको पछाडि कोही पनि लाग्नु पर्दैन ।’
संसद्को बजेट अधिवेशन प्रारम्भ भएको सन्दर्भमा भएको बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीले यस अधिवेशनका मुख्य कार्यभार, नीति तथा कार्यक्रम र बजेट प्रस्तुत र पारित गर्ने, विद्यमान परिस्थितिलाई बुझेर जनताका समस्याको उठान र समाधानका उपायका लागि खेल्नुपर्ने भूमिकाका सम्बन्धमा सम्बोधन गरे ।
प्रतिगमनकारीहरुले आन्दोलनका नाममा हिंसात्मक तथा संविधानविरोधी गतिविधि गरेको सन्दर्भमा अध्यक्ष ओलीले यस्ता कार्यप्रति कठोर हुन निर्देशन दिए । उनले आवश्यक पर्दा त्यस्ता गतिविधिमाथि सरकारले कानुनबमोजिम कडा कदम पनि चाल्न सक्ने संकेत पनि गरे ।
अमेरिकी सरकारसँग भएको सम्झौता र दुवै देशका संसदबाट पारित भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अमेरिकी पक्षबाट बन्द गरिएको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब नेपालले आफ्नो विकास अरुको आशमा नभई आफैंले गर्नतिर लाग्नुपर्ने बताए ।
एमाले मिसन २०८४ मार्फत बलियो राष्ट्रिय शक्तिका रुपमा रुपान्तरित गर्न लागेकाले आन्तरिक एकता र पारस्परिक सहकार्यमा लाग्नुपर्नेमा जोड दिए ।
ओलीले दस्तबेजहरुको चिन्तन मनन तथा तुलनात्मक अध्ययन गर्न र परिस्थितिलाई बुझेर जनताका समस्या कसरी उठाउने र समाधान गर्ने भन्नेतर्फ केन्द्रित भई मर्यादित, सुसंस्कृत, तथ्य र प्रामाणिक कुराहरु साहसिकरुपमा प्रस्तुत हुन सांसद्हरुलाई निर्देशन दिए ।