
तनहुँ सदरमुकाम स्थित दमौली अस्पतालमा विभिन्न सेवा विस्तार गरिएको छ । अस्पतालले शल्यक्रिया मार्फत प्रसूति सेवा, सर्जरी सेवा, एमडिजिपी सेवा र पाठेघर फाल्ने शल्यक्रिया सेवा विस्तार गरेको हो ।
त्यसमध्ये शल्यक्रिया मार्फत प्रसूति सेवा १८ महिनापछि पुनः सञ्चालन भएको हो भने अन्य दुई सेवा नयाँ रहेको अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिनुभयो ।
जनशक्ति अभावमा लामो समयदेखि रोकिएको शल्यक्रिया मार्फत प्रसूति सेवा जनशक्तिको व्यवस्था भएसँगै सञ्चालनमा ल्याइएको बरालले बताउनुभयो ।
सर्जरी सेवा र एमडिजिपी सेवा आर्थिक वर्ष २०८०- ८१ मा र पाठेघर फाल्ने शल्यक्रिया सेवा चालु आर्थिक वर्ष २०८१- ८२ मा सुरु गरिएको बरालको भनाइ छ ।
शल्यक्रियाको व्यवस्था नहुँदा प्रसूति सेवाका गर्भवती पोखरा, चितवन वा अन्यत्रै जानुपर्ने बाध्यता थियो । एनेस्थेसिया सहायक र स्त्रीरोग विशेषज्ञका लागि व्यास नगरपालिकाले भत्ता र गण्डकी प्रदेश सरकारले मासिक तलब दिने व्यवस्था गरेपछि शल्यक्रिया मार्फत प्रसूति सेवा सञ्चालन गरिएको बरालले बताउनुभयो ।
त्यस्तै अस्पतालले गत साउन १४ गतेदेखि पहिलोपटक पाठेघर फाल्ने शल्यक्रिया सेवा सुरु गरिसकेको जनाएको छ ।