
शिकार गरेर बँदेल मारेको आरोपमा पूर्व डीआइजी सहित १० जना पक्राउ परेका छन्।
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका- १ स्थित कोसी पलार क्षेत्रबाट मारिएको बँदेल सहित १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) ज्ञानविक्रम शाह र नेपाल प्रहरी कै बहालवाला प्रहरी नायब निरीक्षक (सई) सञ्जय न्यौपानेसहितलाई पक्राउ गरेको सप्तरी प्रहरीले जनाएको छ । न्यौपाने हाल मधेस प्रदेशको बर्दिबासमा कार्यरत हुनुहुन्छ ।
उनीहरूको साथबाट २२ क्यालिवरको राइफल एक थान, राइफलको म्यागजिन दुई थान, गोली १५ थान, वाइनाकुलर तीन थान, ट्राइपोटर्र एक थान, फलामको हथौडा एक थान, खुर्पा एक थान, प्रदेश ३- ०१- ०२२ च ६८५५ नम्बरको स्कारपियो, को २ त ६९ नम्बरको ट्रयाक्टर एक थान र मारिएको बँदेल प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजु सिद्धी बज्राचार्यले पक्राउ परेकामाथि वन डिभिजनसँगको समन्वयमा विस्तृत अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।