नयाँ दिल्ली, वैशाख १७ :

भारत सरकारले पाकिस्तानका लागि आफ्नो हवाई आकाशमार्ग बन्द गरेको छ। बुधबार राति जारी सूचनाअनुसार अब पाकिस्तानी विमानहरूले २३ मे सम्म भारतीय आकाशमार्ग प्रयोग गर्न नपाउनेछन्।

भारतले पाकिस्तानका लागि "नोटिस टु एयरम्यान " जारी गर्दै यस्तो निर्णय लिएको हो। नोटिसमा भनिएको छ, यदि कुनै पाकिस्तानी विमान भारतीय हवाई क्षेत्रभित्र प्रवेश गर्छ भने त्यसविरुद्ध आवश्यक कारबाही गरिनेछ।

पाकिस्तानले यसअघि २३ अप्रिलमा भारतका लागि आफ्नो हवाई आकाशमार्ग बन्द गर्ने निर्णय गरेको थियो। त्यसको जवाफस्वरूप भारतले यस्तो कदम चालेको विश्वास गरिएको छ।

यो निर्णय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, र थलसेनाध्यक्ष उपेन्द्र द्विवेदीबीच भएको उच्चस्तरीय बैठकपछि सार्वजनिक भएको हो। करिब एक घण्टा लामो बैठकपछि उक्त निर्णय आएको भए पनि औपचारिक रूपमा हवाई आकाशमार्ग बन्द गर्ने निर्णय सोही बैठकमा भएको हो कि भन्ने खुलाइएको छैन।

विश्लेषकहरूका अनुसार भारतको निर्णयले पाकिस्तानको हवाई उड्डयन तथा अर्थतन्त्रमा ठूलो असर पार्नेछ। भारतको आकाशमार्ग बन्द हुँदा पाकिस्तानका विमानहरूले थाईल्यान्ड, बङ्गलादेश, म्यानमार, श्रीलङ्का जस्ता देशहरूमा पुग्न लामो दूरी तय गर्नुपर्नेछ, जसले इन्धन खर्च बढाउनेछ र हवाई यात्रा महँगो बनाउनेछ।भारतको यो निर्णयलाई दक्षिण एसियाली कूटनीतिक तनावको संकेतका रूपमा समेत हेरिएको छ।