
राष्ट्रपति रामचन्द्र पौडेलले भाषा, साहित्य, संस्कृति र दर्शन मानव जीवनका लागि अपरिहार्य विषय भएको बताएका छन् । उनले भाषिक तथा सांस्कृतिक बहुलता एवं भौगोलिक विविधताले युक्त हाम्रो देशको गौरव एवं पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृतिहरू रहेको बताए । उनले यिनको संरक्षण, संवर्धन र विकास गर्नु हामी सबैको कर्तव्य भएको धारणा व्यक्त गरे ।
राष्ट्रपति पौडेलले राष्ट्रकवि माधवप्रसाद घिमिरे प्रतिष्ठानको आयोजना र मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको सहआयोजनामा लमजुङ बाहुनडाँडा पुस्तुनमा आयोजित राष्ट्रकवि घिमिरेको पूर्णकदको शालिक अनावरण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘प्रतिभाका धनी स्रष्टा र साहित्यकारलाई समाज र सरकारले साथ, सहयोग र सम्मान गर्न कुनै कञ्जुस्याईं गर्न हुँदैन भन्ने मलाइ लाग्छ,’ राष्ट्रपति पौडेलले भने ।
विगतमा तत्कालीन पश्चिम ३ नम्बर लम्जुङ, तनहुँ र कास्की भाषा, साहित्य, संस्कृति र कला मात्र नभई राजनीतिक र सामाजिक जागरणको उर्वर भूमि रहेको र लमजुङको हलो क्रान्तिले ल्याएको सामाजिक परिवर्तन र त्यसको जगमा गति लिएको राणाविरोधी आन्दोलनलाई पूर्णता दिन पुर्याएको सहयोगलाई कहिल्यै बिर्सन नहुने उनको भनाइ छ ।
‘जहाँनीया राणा शासनविरोधी क्रान्तिमा तनहुँको बन्दीपुर कब्जा गरेर यो क्षेत्रले देखाएको राजनीतिक जागरुकता र क्रियाशीलताको एउटा युगीन झड्का इतिहासमा चर्चित छ,’ उनले भने, ‘तीनै राजनीतिक, सामाजिक तथा सांस्कृतिक क्रान्तिको जगमा उभिएर आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो ।’
ठुलो राजनीतिक परिवर्तनपछि जनताले मुलुकको समृद्धिको अपेक्षा गरेको तथा जनताको यो अपेक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रले लिएको लक्ष्यअनुसार अब तीव्र विकास, सुशासन र आर्थिक समृद्धितर्फ हामी सबैको ध्यान केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।
‘कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मभूमि अर्घौअर्चले, जनकविकेशरी धर्मराज थापाको बाटुलेचौर, अलिमियाँको कुँडहरदेखि प्रसिद्ध समालोचक प्रोफेसर यदुनाथ खनालको जन्मभूमि मानुङ, आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घा हुँदै राष्ट्रकविको जन्मथलो पुस्तुन बाहुनडाँडासम्मका स्थललाई समेटी एउटा गण्डकी साहित्य सर्कल (चक्र) निर्माणको लागि म आग्रह गर्दछु,’ उनले भने ।
साथै तनहुँको आदिकवि भानुभक्तको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक तीर्थस्थल बनाउने योजना अघि बढेकाले यसमा सबैको सहयोगको लागि उनले आह्वान पनि गरे ।
राष्ट्रकविको जन्मस्थान बाहुनडाँडा पुस्तुनमा उनको नाममा बनेको पार्क र निर्मित सालिकसँगै यस क्षेत्रको महत्त्व र गरिमा बढेर यो समग्र भाषा साहित्यप्रेमीको एउटा आकर्षक गन्तव्यस्थलका रुपमा विकास हुने उनले विश्वास व्यक्त गरे ।
हामीले भोगेको समय र समाज, दुःखसुख, जनजीवन एवं परिवेशको यथार्थ चित्रण स्रष्टाका रचनामा प्रतिविम्बित हुने गर्छ भन्दै राष्ट्रपति पौडेलले यी रचना एउटा अभिलेखका रुपमा वर्तमानमा मात्र होइन भावी पुस्ताका लागि पनि तत्कालीन परिवेशलाई बुझ्ने जीवन्त दस्ताबेज भएको उनको भनाइ थियो ।
‘गण्डकी प्रदेशको लमजुङ भाषा, साहित्य, संस्कृति र कलाको केन्द्र हो । यहाँका बस्ती र पाखापखेरामा प्रस्तुत हुने बालन, भजन, चुड्का, घाँटु, सोरठी र ठाडो भाका मात्र होइन हिमालको काखमा अवस्थित यहाँको पहाडी रमणीय प्रकृतिले यसलाई स्रष्टा र साहित्यको लागि उर्वर वातावरण दिएको छ,’ पौडेलले भने ।
यसैको सेरोफेरोमा पूर्वीय जीवन र दर्शनलाई दिशाबोध गर्ने चार वेद र अठार पुराणका रचयिता वेदव्यास, नेपाली भाषासाहित्यलाई युगीन बाटोतर्फ डोर्याउने आदिकवि भानुभक्त र कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मभूमि रहेको प्रसंग उल्लेख गर्दै उनले यही सेरोफेरो, हावापानी र प्रकृतिले यो पुस्तुनमा नेपाली काव्यधराका धरोहर माधवप्रसाद घिमिरेको जन्म भयो जो नेपाली साहित्यको क्षेत्रमा अतुलनीय योगदान दिन सफल भएको राष्ट्रपतिको भनाइ छ ।
‘यहाँको सुरम्य पहाडी, हिमाली र ग्रामीण जनजीवनको धुकधुकीलाई टपक्क टिपेर आफ्ना कयौं गीत, कविता, खण्डकाव्य, गीतीनाटकसहित कालजयी रचना सिर्जना गर्ने राष्ट्रकवि घिमिरेको वैशिष्ट्यताले नेपाली साहित्यजगतलाई महत्त्वपूर्ण योगदान दिएको छ,’ राष्ट्रपति पौडेलले भने ।
घिमिरेका साहित्यिक सिर्जनामा हाम्रै पाखा-पखेराका नेपाली जनजीवनका भोगाइ, प्रकृति, संस्कृति र मानवीय संवेदना मात्र होइन राष्ट्रिय भावनाले ओतप्रोत भएको पाइन्छ भन्दै राष्ट्रपति पौडेलले यसबाट भाषा, साहित्य मात्र नभएर समग्र वाङ्मयको क्षेत्रलाई समृद्ध बनाउन र हाम्रो राष्ट्रिय स्वाभिमानको भावना अभिवृद्धि गर्न योगदान दिएको बताए ।