
पाकिस्तानले सोमबार (आज ) दोस्रो क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ । सतहदेखि सतहमा प्रहार गर्न सक्ने फतह नामक ब्यालिस्टिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको हो। पाकिस्तानी सेनाका अनुसार सो मिसाइलको प्रहार क्षमता १२० किलोमिटर रहेको छ ।
पाकिस्तानद्वारा विकसित फतह मिसाइल रणनीतिक उद्देश्यले निर्माण गरिएको ब्यालिस्टिक मिसाइल प्रणाली हो। यसअघि, पाकिस्तानले वैशाख २१ (मे ३) मा अब्दाली नामक अर्को ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको थियो, जसको प्रहार क्षमता ४५० किलोमिटर रहेको जनाइएको छ ।
जम्मु-कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा २६ जनाको ज्यान गएपछि भारतले सो घटनामा पाकिस्तानको संलग्नता रहेको आरोप लगाउँदै कडा कदम चाल्दै आएको छ। त्यसयता दुबै मुलुकबीच परस्पर आरोप-प्रत्यारोप मात्र होइन, सुरक्षा तयारीसमेत तीव्र भएको देखिएको छ ।
यसैबीच आजै भारतीय सुरक्षा निकायले जम्मु–कश्मीरको पुंछ क्षेत्रमा आतंकवादी लुकेर बसेको आशंकामा अपरेशन गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार सो स्थानबाट पाँचवटा विष्फोटक सामग्री (आईईडी), वायरलेस सेट र केही लुगाफाटा बरामद गरिएको छ ।
पछिल्ला दिनमा दुवै देशको सैन्य गतिविधि र परीक्षणहरू एकअर्कालाई चेतावनी दिनकै क्रममा भएको देखिन्छ। यसले दक्षिण एशियामा पुनः तनावको बादल मडारिन थालेको संकेत दिएको छ।