
पश्चिम नवलपरासीमा नियमविपरीत औषधि पसल सञ्चालन भएको पाइएपछि कारबाही गर्न थालिएको छ ।
जिल्लामा औषधि पसल बिनादर्ता सञ्चालन भएको गुनासो बढेपछि स्वास्थ्य कार्यालय, स्थानीय तह, जिल्ला प्रशासन, करदाता सेवा कार्यालयसहितको संयुक्त टोलीले अनुगमन गर्न थालेको हो।
अनुगमनका क्रममा सदरमुकामका दुई औषधि पसललाई जरिवाना गरिएको हो ।
जिल्लामा ६० भन्दा बढी औषधि पसल बिनादर्ता सञ्चालनमा रहेको अनुगमनका क्रममा पाइएको स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले जानकारी दिनुभयो।
दर्ता भएर सञ्चालन भएका आधिकांश पसलहरूले पनि अनुमति लिएको भन्दा फरक कारोबार गर्ने गरेका पाइएको अनुगमन टोलीले जनाएको छ।
अनुगमनका क्रममा बुद्धचोकमा सञ्चालनमा रहेको समिता मेडिकल र सन मेडिकल हल नियमविपरीत सञ्चालन भएको पाइएको छ । समिता मेडिकललाई १० हजार र सन मेडिकल हललाई दुई हजार रुपैयाँ जरिवाना गरिएको जनाइएको छ।
दुवै पसललाई सात दिनभित्र आवश्यक कागजपत्र लिएर जिल्ला प्रशासनमा जान निर्देशन दिइएको र कागजपत्र बुझाउन नसके पसल सिल गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने स्वास्थ्य प्रमुख पन्थीले जानकारी दिनुभयो।
जिल्लामा एक सय ५० औषधि पसल औषधि विभागमा दर्ता भएर सञ्चालनमा छन्। ६० वटा औषधी पसल बिना दर्ता सञ्चालनमा रहेको जानकारी आएकाले क्रमशः अनुगमन गरेर कानुनी दायरामा ल्याइने स्वास्थ्य कार्यालयले जनाएको छ ।