काठमाडौँ, भदौ १७ :

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले विश्वमा हाल सङ्गठित र सङ्क्रमणकालीन अपराध चुनौतीका रूपमा देखापरिरहेको जनाउँदै त्यस्ता अपराधविरूद्ध सबै एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

दोस्रो अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसको सन्दर्भमा आज काठमाडौँमा भएको समारोहमा उहाँले विभिन्न देशमा हुने सङ्गठित अपराध एक पक्षीय प्रयासले मात्र नियन्त्रण गर्न नसकिने भन्दै त्यसका लागि सबै राष्ट्रबीच आपसी सहयोग, सूचनाको आदान प्रदान र समन्वय हुनुपर्ने बताउनुभएको हो ।

इन्टरपोल स्थापना दिवसका अवसरमा सेप्टेम्बर ७ लाई अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसका रूपमा मनाउने घोषणा गरिए अनुरूप यसवर्ष पनि विविध कार्यक्रम आयोजना गरी दिवस मनाइँदै छ । 

अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसका सन्दर्भमा आज ‘वाकाथोन’ आयोजना गरिएको थियो ।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले आयोजना गरेको वाकाथोन नक्साल, दरबारमार्ग, केशरमहल, नारायणहिटी हुँदै पुनः प्रहरी प्रधान कार्यालय पुगेर समापन समारोहमा परिणत भयो।