काठमाण्डौं, वैशाख २६ :

नेपाली महिला क्रिकेट टोलीले आजबाट महिला टि-ट्वान्टी विश्वकप २०२६ को छनोट स्वरुप हुने एसिया छनोटको प्रतियोगिता खेल्दैछ ।

छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डको एसियन टेक्नोलोजी मैदानमा आज बिहान ८:४५ बजे हङकङको सामना गर्दैछ । नेपाली टोलीले समूह चरणका अन्य खेलहरुमा भोली बहराइनविरुद्ध खेल्नेछ भने तेस्रो खेल यहि बैशाख ३० गते मंगलबार पुनः हङकङविरुद्ध खेल्नेछ ।

त्यसैगरी जेठ १ गते समुह चरणमा बहराइनविरुद्ध दोस्रो खेल खेल्ने तालिका छ । थाइल्यान्डमा हुने एसिया छनोटमा नेपाल बहराइन र हङकङसँगै समूह ‘सी’ मा रहेको छ । छनोट खेल्न समूह ‘ए’ मा भुटान,कुवेत र थाइल्यान्ड रहँदा समूह ‘बी’ मा मलेसिया,कतार र युएई रहेका छन् ।

हरेक समूहका टोलीले एकआपसमा दुई-दुई पटक खेले पछि समूहको शीर्ष टोलीले सुपर थ्रीमा स्थान बनाउने छ । सुपर थ्रीमा शीर्ष दुईमा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छ ।

टि ट्वान्टी आईको पछिल्लो पाँच भेटमा नेपालले हङकङलाई २ खेलमा हराउँदा हङकङले पनि समान दुई खेलमा नेपाललाई पराजित गरेको छ । एक खेल भने बर्षाका कारण रद्द भएको छ । प्रतियोगिता खेल्न इन्दू वर्माको कप्तानीमा नेपाली टोली थाइल्याण्ड गएको छ ।।