
आतंकवादविरुद्ध काठमाडौंमा रहेको भारतीय र पाकिस्तानी दूतावासअगाडि प्रदर्शन गरिएको छ । मानव अधिकार तथा शान्ति समाजले शुक्रबार आतंकवाद र अतिवादविरुद्ध प्रदर्शन गरेको हो ।
शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्, पराजित केबल मानवता हुने गर्दछ, आतंकवाद सदैव निन्दनीय छ, सिन्धु जल सम्झौता निलम्बन गर्नु कति मानवीय छ ? लगायत नाराअंकित प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरिएको हो ।
अप्रिल २२ मा पहलगाममा भएको घटनापछि भारत र पाकिस्तानबीच तनाव बढेको छ । पहलगाम घटनामा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो । यसपछि भारत र पाकिस्तानबीच एक-अर्काविरुद्ध हमला गरिरहेका छन् ।
प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रेनुका पौडेल, निवर्ततमान सभापति रामकृष्ण बराल, पूर्वसभापति होमकान्त चौलागाईं, सल्लाहकार रामप्रसाद जोशीलगायतको सहभागिता थियो ।
प्रदर्शन पश्चात समाजका तर्फबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लेखिएको ज्ञापनपत्र दूतावासमार्फत हस्तान्तरण गरिएको थियो । पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफलाई लेखिएको पत्र पाकिस्तानी दूतावासले बुझ्न नमानेका कारण इमेलबाट पठाइएको समाजले जनाएको छ ।
