
उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह। फाइल तस्बिर।
उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सामाजिक सञ्जालका भरमा देशको विकासको मूल्यांकन नगर्न आग्रह गरेका छन्।
रसुवाको कालिका हिमालय माध्यमिक विद्यालयको सोमबार स्वर्णजयन्ती कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जाल भर्चुअल संसार भएकोले त्यसमा मात्र आधारित भएर धारणा बनाउन नहुने बताए।
‘विकासको मूल्यांकन प्रत्यक्ष अनुभव र अवलोकनबाट गर्नुपर्छ,’ सिंहले भने, ‘विगतको तुलनामा अवस्थाहरूमा क्रमशः सुधार हुँदैछ।’ उनले रसुवाको पूर्व र वर्तमान अवस्थाको तुलना गर्दै परिवर्तन स्पष्ट देखिएको बताए।
सिंहले शिक्षा प्राप्तिका लागि इच्छा मात्र होइन, परिश्रम आवश्यक हुनेमा जोड दिंदै समुदायले गुणस्तरीय शिक्षामा विद्यार्थीप्रति अपनत्व लिनुपर्ने धारणा राखे।
देशमा राजनीतिक स्थिरता र स्थायित्वमार्फत विकास निर्माणलाई तीव्रता दिन वर्तमान सरकार गठन गरिएको उनले स्पष्ट पारे।
