
चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ को छायांकन सकिएको छ ।
निर्माणपक्षले सोमबार ललितपुरको च्यासलस्थित एक पार्टी प्यालेसमा भव्य इन्डक्ल्याप पार्टीको आयोजना गर्दै ३५ दिनमा छायांकन सम्पन्न भएको जानकारी गराएको हो ।
निर्माणपक्षले उक्त इन्डक्ल्याप पार्टीमा चलचित्रको सम्पूर्ण छायांकन ३५ दिनमा सम्पन्न भएको जानकारी गराएको छ ।
यो चलचित्र छायांकन काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा भएको निर्माणपक्षले जानकारी दिएको छ । ‘सिनेमा अपेक्षा गरेअनुसार राम्रोसँग छायांकन गरिएको छ,’ निर्देशक हिमाल न्यौपानेले भने, ‘अब पोस्ट प्रोडक्सनमा पनि हामी मिहिनेत गरेर दर्शकलाई राम्रो सिनेमा दिनेछौँ ।’
सिनेमालाई हिमाल न्यौपानेको निर्देशन गरेका छन् । निर्देशक न्यौपानेको यो डेब्यु निर्देशन हो ।
‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ ले गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राखेको छ । चलचित्रले आमा र छोराबीचको भावनात्मक कथा भन्नेछ ।
चलचित्रको एसोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनीष राउत छन् ।
बलियो लाइनअप देखिएको चलचित्रमा अभिनेता विजय बराल, अभिनेत्री केकी अधिकारी र मिरुना, मगर गौरव पहाडी, सुशांक मैनालीलगायतको मुख्य भूमिका छ । यस्तै, चलचित्रमा भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको अभिनय छ ।
इन्डक्ल्याप कार्यक्रममा अभिनेता विजय बरालले भने, ‘केकीसँग पनि काम गरियो, मिरुनासँग पनि काम गरियो । अझै धेरै भयङ्कर मान्छेसँग काम गर्ने मौका मिल्यो । म सामान्य मान्छे, त्यसैले त्यही पात्र परेँ । यो सिनेमामा बुबा-छोराको मात्र होइन, धेरै सम्बन्धको कथा छ । यसले दर्शकको मन छोला भन्ने विश्वास छ ।’
यस्तै एसोसिएट निर्देशक राउतले जीवनको भोगाइमा र सम्बन्धको कथा, सिनेमाका ती पात्रहरूले गरेको संवाद र सङ्घर्षहरू जुन जनैको डोरी झैं बुन्ने प्रयास गरिएको बताए ।
पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह-निर्मातामा आरके मानन्धर, रुपेश लामा, सीआर बस्नेत र फिलिप डीसी रहेका छन् ।
चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको चलचित्रमा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश केसी सहायक निर्देशक रहेका छन् ।
चलचित्रमा प्रशान्त शिवाकोटी, एसडी योगी, थानेश्वर गौतम र अर्जुन पोखरेलको संगीत रहनेछ ।
नवीन गुरुङ डीओपी रहेको चलचित्रमा कृष्ण परियारको सिनेमोटोग्राफी रहेको छ ।
यो चलचित्र तिजको अवसर पारेर भदौमा प्रदर्शन गर्ने योजना भए पनि अझै मिति तय भइसकेको छैन ।