
बर्दियाका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा १ र २ मा अध्ययनरत बालबालिकामा राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत ‘ट्रान्समिसन एसिसमेन्ट सर्भे’ (टास) सुरु गरिएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले तोकेका विद्यालयमा हात्तीपाइले रोगको दोस्रो चरणको ट्रान्समिसन सर्भे सुरु गरिएको हो ।
कक्षा १ र २ मा अध्ययनरत ६ देखि ७ वर्षका बालबालिकामा हात्तीपाइले रोगको ट्रान्समिसन परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र मकवानपुरका ल्याब निरीक्षक राजकुमार इटनीले बताउनुभयो ।
बर्दियामा तीन सय ७३ विद्यालयका १८ हजार नौ सय ५० विद्यार्थीमध्ये ३७ विद्यालयका एक हजार पाँच सय ५२ विद्यार्थीहरूको नमूना परीक्षण गरिनेछ ।
सन् २०२२ को तथ्याङ्क अनुसार दक्षिण पूर्वी एशियामा ५४ प्रतिशत हात्तीपाइले रोगको भार रहेको छ । जसमध्ये ४० प्रतिशत भारतमा रहेको छ ।
नेपालमा ६४ जिल्ला हात्तीपाइलेको जोखिममा रहेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताउनुभयो ।